समाज


आजको मौसम प्रक्षेपण: कतै वर्षा र हुरी, कतै तातो दिन

आजको मौसम प्रक्षेपण: कतै वर्षा र हुरी, कतै तातो दिन

नेपालखबर
जेठ १०, २०८३ आइतबार ८:४१, काठमाडौँ

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा देशको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशसहित बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराईमा तातो लहर हुने सम्भावना छ। मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।

यसैगरी आज राति कोसी प्रदेशसहित, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

काठमाडौँ उपत्यकामा साँझपख वर्षा हुने सम्भावना

आज (आइतबार) पनि काठमाडौँ उपत्यकामा साँझपख वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली छ’, उनले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि बादल बढ्दै गएर साँझपख मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’ 

उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो नै बादल लाग्ने सम्भावना छ। तर यसो भनेर घाम नलाग्ने भन्ने होइन। 

‘बादल पनि लाग्छ र घाम पनि देखिन्छ तर अपराह्नपछि मौसम बदली भई साँझपख पानी पर्ने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad