सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा दुई सयभन्दा बढी भेडा हराएका छन्।
शनिबार आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाएको हो। भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर हराएको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको जनाइएको छ। पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्।
पहिरोमा परेर २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
भेडीगोठमा रहेका अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन्। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्छ। घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीय बासिन्दा उद्धार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन्।
Shares

प्रतिक्रिया