बुटवलको क्रिमसन अस्पतालमा उपचाररत् गुल्मीका कोरोना संक्रमितकाे मृत्यु नभएको प्रस्ट पारेको छ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै क्रिमसन अस्पतालले गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको बताएको हो।
केही अनलाइन र सामाजिक सञ्जालमा उपचाररत युवाको मृत्यु भएको समाचार प्रकाशित भएपछि अस्पतालले विज्ञप्ति नै निकालेर खण्डन गरेको हो।
संक्रमितको आईसीयुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको भन्दै अस्पतालले गलत समाचारको पछि नलाग्न सबैमा आग्रह समेत गरेको छ।
‘सामाजिक सञ्जाल र मिडियाहरुमा बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण भइ जनसमुदायमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं’ बुधबार मध्यान्ह क्रिमसन अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षक ज्वरो तथा टाउको दुखेपछि एक हप्ताअघि अस्पतालमा भर्ना भएका थिए।
ती शिक्षकमा जेठ ५ गते कारोना पुष्टि भएको थियो।


प्रतिक्रिया