समाज


बजेट अभाव हुँदा यस वर्ष पनि नहुने भयो गैँडा गणना

बजेट अभाव हुँदा यस वर्ष पनि नहुने भयो गैँडा गणना

फाइल फोटो


नेपालखबर
बैशाख २८, २०८३ सोमबार १३:२२, चितवन

बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो।

गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ।

विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिए।

आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक स्ट्रक्चर’ फरक हुने गर्दछ।

आचार्यका अनुसार सामान्यतया गैँडाले एकै ठाउँमा दिसा गर्छन् । ती ठाउँहरुको पहिचान गरी सिसी क्यामरा जडान गरेर पटकपटक गोबर सङ्कलन गरिन्छ। यी सबै कामलाई कसरी गर्ने भन्ने विषय प्रोटोकलमा उल्लेख गरिने उनले जानकारी दिए।

मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्जमा यो विधिबाट गैँडाको गणना गरिने छ। ठूलो क्षेत्र भएकाले कति प्रतिशत भूभागबाट गोबर सङ्कलन गर्ने भन्ने विषय प्रोटोकलमा निर्धारण गरिने छ।

गैँडाको वासस्थान, खोलाको किनार, घाँसेमैदान, नदी तटीय वन क्षेत्र हुने गर्दछ। नेपालका चार निकुञ्जमा गैँडा पाइन्छन्। बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष रुपमा हेरेर गणना गर्न सकिने भएकाले यो बिधि चितवन राष्ट्रिय निकुञ्जमा मात्र प्रयोग गरिने छ।

नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ। विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने जनाइएको छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो। यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा तीन करोड हाराहारी खर्च भएको थियो। सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए। यसरी गणना गर्दा तीन साता लाग्छ। त्यसमा ठूलो सङ्ख्यामा हात्तीलगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ।

आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए।

सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए। सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो।

नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ। सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad