ad ad

समाज


सिसडोलमा फोहोर विसर्जनमा अवरोध गरे बल प्रयोग गर्छाैं: प्रमुख जिल्ला अधिकारी

सिसडोलमा फोहोर विसर्जनमा अवरोध गरे बल प्रयोग गर्छाैं: प्रमुख जिल्ला अधिकारी

नेपालखबर
जेठ ५, २०७७ सोमबार ७:२४,

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिसडाेलमा फोहोर विसर्जन गर्न अवरोध गरे बल प्रयाेग गरेर भए पनि त्यस्ताे अवराेध हटाउने बताएका छन्।

‘ककनी गाउँपालिकाले विज्ञप्ति नै निकालेर सवारी आवत–जावतमा रोक लगाई सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ दाहालले भने, ‘विभिन्न बाहनामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन। मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु। उहाँहरुका माग के–के हुन्। व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ। तर, फोहोर नै रोक्ने कुरा हुँदैन।’

दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोरो विसर्जन गर्ने बताएका छन्।

‘सिसडोलबासीले फोहोर विसर्जनमा पटक–पटक अवरोध गरेर समस्या सिर्जना गरेको कुरा सबैलाई जानकारी नै छ। त्यहाँका स्थानीयले विभिन्न बाहनामा फोहोरो विसर्जनमा अवरोध गर्ने र काठमाडौँ महानगरपालिकाले उहाँहरुका माग पटक–पटक सम्वोधन गर्ने र फोहोर विसर्जन गर्दै आएको छ,’ दाहालले भने।

दाहालले फोहोर व्यवस्थपन अत्यावश्यक सेवा भित्र पर्ने भएकाले रोक्ने नमिल्ने बताए।

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए।

काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ। त्यो उत्पादित फोहोर विसर्जन नहुने हो भने काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दुर्घन्धित हुने र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना नगर्न आग्रह गरेका छन्।

Sishdole 1

ककनी गाउँपालिकाले एम्बुलेन्सबाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ।

यसैबीच लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बताएका छन्।

ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्सबाहेक सवारी आवत–जावतमा रोक लगाएका कारण राजधानीमा समस्या भएको महानगरपालिकाले जनाएको छ।

फोहोर बोक्ने गाडी अत्यावश्यक सेवा अन्तर्गत पर्ने भए पनि तिनको आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको महानगरपालिकाले बताएको छ।

लकडाउनको समेत वेवास्ता गर्दै विभिन्न जिल्लाबाट हुने आवतजावतले उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेर अशान्त बनिरहेका बेला उक्त कार्यले थप समस्या भएको श्रेष्ठको भनाई छ।

श्रेष्ठले स्थानीयको कुनै माग भए महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमै अवरोध गर्ने कुरा उचित नभएको बताएका छन्।
‘तर, विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन। जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुखद् हो। त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .