समाज


दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार

कम्बोडियामा संगठित अपराधमा थप नेपाली पक्राउ
दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १५:३, काठमाडौँ

परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तिब्रता दिएको छ। 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। मन्त्रालयकाअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन्।

उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन्। 

हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ। 

कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। 
प्रवक्ता क्षेत्रीकाअनुसार पक्राउ परेकामध्ये ५ जनालाई सङ्गठित ठगी अपराध सम्बन्धी कसुरमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिनेछ।

बाँकी ४ जनालाई शरीर बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ। योसँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीहरूको कुल सङ्ख्या १४ पुगेको छ। 

उनले भने, ‘थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूबाट संवद्ध निकायहरूसँगको समन्वय र सहयोगमा हिजो वैशाख १० सम्ममा कुल ६१२ जनाको उद्धार कार्य सम्पन्न भएको छ। जसमध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थप ५३ जनाको ट्राभल डकुमेन्ट बनाई यथाशीघ्र स्वदेश फिर्तीको तयारी समेत गरिएको छ।

सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या अहिले २१ हजार पुगिसकेको छ। त्यसमध्ये धेरै जना यस्ता ठगी केन्द्रहरूमा गएको हुन सक्ने अनुमान गरिएको छ। कम्बोडिया सरकारले हालै थप ९ जना नेपालीहरूलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ पनि गरेको छ।’

मन्त्रालयले गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको मस्यौदामाथि सरोकारवालासँग छलफल तिब्रता दिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले संविधानको भावनाअनुसार गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्ने गरी छिट्टै मस्यौदा संसद्मा पेश गरिने जानकारी दिए। 

हालसम्म ५ हजारभन्दा बढी गैरआवासीय नेपालीले नागरिकता लिइसकेका छन्। मन्त्रालयले ५ दिनभित्र विधेयकको मस्यौदालाई परिमार्जन गरी अगाडि बढाउने तयारी गरेको छ। वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउन मन्त्रालयले भौतिक पूर्वाधार र उद्योग वाणिज्य मन्त्रालयहरूसँग समेत अन्तर–निकाय समन्वय गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad