समाज


कञ्चनपुरमा संक्रमितको सम्पर्कमा आएका ३० जनाको रिपोर्ट नेगेटिभ

कञ्चनपुरमा संक्रमितको सम्पर्कमा आएका ३० जनाको रिपोर्ट नेगेटिभ

गोकुल जोशी
जेठ ४, २०७७ आइतबार ९:५२,

काठमाडौंमा कोरोना पोजेटिभ देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपाल, सिसैयाकी ३३ वर्षीय महिलाको सम्पर्कमा आएका ३० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमित महिलाको सम्पर्कमा आएका परिवारका पाँच सदस्य, अटो चालक तथा छरछिमेक गरी ३० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। वैशाख २८ गते काठमाडौं फर्किएकी बेदकोट नगरपालिकाकी ती महिलाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।

झण्डै दुई महिना बेदकोट नगरपालिका–१० हरपाल, सिसैयामा बिताएकी महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको परिवार, छरछिमेकका गरी ३० जनाको थ्रोट स्वाब नमूना संकलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइएको थियो। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। कोराना संक्रमित महिला चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौंबाट बसमा कञ्चनपुर आएकी थिइन्। करिब दुई महिना उनले बेदकोट नगरपालिका–१० हरपाल, सिसैया स्थित घरमा बिताएकी थिइन्।

सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लागेको छैन। झण्डै ५२ दिन पछि वैैशाख २८ गते उनी छोरा–छोरीसहित सशस्त्र प्रहरीको भ्यानमा काठमाडौं फर्किएकी थिइन्। अहिले संक्रमित महिलाको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको समेत जनाइएको छ। कोरोना संक्रमित बसेको बेदकोट नगरपालिका–१० हरपाल, सिसैया, सोही गाउँसँगै जोडिएका भीमदत्त नगरपालिका–२ र १९ का क्षेत्रमा आवातजावत प्रतिबन्ध लगाइएको छ।

दशगजामा अलपत्र ६३ जनाको नमूना संकलन
कञ्चनपुरको नेपाल–भारत सीमामा अलपत्र रहेका ६३ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि नेपाल भारत दुवैतर्फ लकडाउन भए पछि सीमामा हजारौँ नेपाली मजदुरी अलपत्र परेका छन्।

रोजगारीको लागि भारतको विभिन्न ठाउँमा रहेका नेपाली नागरिक घर फर्किने बेला नाका बन्द हुँदा दशगजामै अलपत्र अवस्थामा रहेका छन्। नाका प्रवेशको अनुमतिको पर्खाइमा कञ्चनपुरको सीमामा रहेका ६३ जनाको थ्रोट स्बाव संकलन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए। महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा रहेका ३६ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा रहेका २७ को नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको उनले बताए।

‘स्वदेश भित्र्याउनका लागि नमूना संकलन गरेर धनगढी पठाइएको छ, एक दुई दिनमा रिपोर्ट आउँछ’ उनले भने।

अलपत्र नेपालीको उद्दारको माग सहित सीडीओलाई ज्ञापनपत्र
कञ्चनपुरका नागरिक अगुवा तथा पेशाकर्मीहरुले सीमावर्ती भारतीय भूभाग तथा भारतका बिभिन्न भागमा अलपत्र परेका नेपालीहरुलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्दार गर्न सरकारसँग आग्रह गरेका छन्। आइतवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुरका नागरिक अगुवा तथा पेशाकर्मीहरुले भारतीय भूमिमा अलपत्र परेका नेपालीहरुलाई सीमामै ¥यापिड टेष्ट गरी सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन आग्रह गरे।

भारतबाट भित्रिने नागरिकलाई सीमा नाकाबाटै गन्तव्यसम्म पु-याउन सम्बन्धित तहसँग समन्वय गर्न समेत प्रमुख जिल्ला अधिकारीहरुसँग अधिकारकर्मीहरुले आग्रह गरेका छन्। बिभिन्न जिल्लाका नागरिकलाई पु¥याउन प्रयोग गरिने सवारी साधनका चालक र सहचालकको समेत स्वास्थ्य र सुरक्षालाई ख्याल गर्दै उनीहरुको समेत -यापिड टेष्ट तथा आवश्यक सुरक्षाको उपाय अपनाउन आग्रह गरिएको छ। यस्तै भारतबाट आउने तरकारी, फुलफुल, कोइला लगायतका वस्तुको ढुवानी सुरक्षित नभएको तर्फ प्रशासनको ध्यानाकर्षण गराइएको छ।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा गैसस महासंघ नेपालका सुदूर पश्चिम प्रदेश ईञ्चार्जका भवराज रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारी, गैर सरकारी संस्था महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष नरेश शिलाल, माईती नेपालकी महेश्वरी भट्ट, र सञ्जिवनी नेपालकी नितु भट्टले नागरिक संघसंस्थाका तर्फबाट प्रमुख जिल्ला अधिकारी खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीहरुको सुरक्षित उद्दारका लागि पहल भइरहेको र सो सम्बन्धमा गृह मन्त्रालयसंग छलफल भइरहेको बताए। सिडिओ खतिवडाले सीमावर्ती भारतीय जिल्लाका प्रमुखहरुसँग त्यहाँ क्वारेन्टिनमा रहेका नेपालीहरुको संख्या र अवस्थाका बारेमा जानकारी लिएर उद्धारका लागि पहल गर्ने प्रतिबद्धता गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad