कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गाउँका बासिन्दाको कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली बाह्रबिसेस्थित राम्चे पुगेको छ।
सो टोलीले सम्भावित संक्रमितको नमुना संकलन गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङको काम पनि गर्नेछ।
९ दिनकी सुत्केरी ती महिलाको बिहीबार मृत्यु भएको थियो। शनिबार स्वास्थ्य मन्त्रालयले उनको कोभिड–१९ बाटै मृत्यु भएको पुष्टि गरेको थियो।
उनको मृत्युपछि कोरोना समुदायमा फैलिएको हुनसक्ने आशंका गर्दै बाह्रबिसे नगरपालिकाको ८ र ९ वडा सिल गरिएको थियो।
मृत महिलाको परिवारका सदस्यलाई अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
सिल गरिएका ती स्थानमा पुगेर विज्ञ टोलीले अध्ययन र स्वाब संकलन गर्ने बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले नेपालखबरलाई बताइन्।
मृत महिलाको घरवरिपरि १७ परिवार रहेको र उनीहरु सबैको नमुना लिइने उनले जानकारी दिइन्।
आइतबार बिहानै काठमाडौं र धुलिखेलका स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका स्वास्थ्यकर्मी, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख पाख्रिनसहितको टोली राम्चे पुगेको हो।
मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका वरिपरिका छिमेकी, उनको माइतीघर भट्टेका स्थानीय र उनलाई भेट्न जानेहरुको स्वाब लिइने पाख्रिनले जानकारी दिइन्।
‘विज्ञसहितको टोली गाउँमा छौं,’ उनले भनिन्, ‘ठूलो संख्यामा आरडीटी परीक्षण र पीसीआरका लागि नमुना संकलन गछौं।’
सामाजिक विकास मन्त्री युवराज दुलालले मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआरका लागि स्वाब लिइने र अन्यको भने आरडीटी परीक्षण गरिने बताए।
संकलन गरिएको स्वाव परीक्षणको लागि आजै काभ्रेको धुलिखेल पठाइने उनले बताए।

प्रतिक्रिया