समाज


सञ्चार माध्यमले महिलाको सुन्दरताको बखान होइन, गहिरो प्रश्न गरोस्: सांसद् क्रान्तिशिखा

सञ्चार माध्यमले महिलाको सुन्दरताको बखान होइन, गहिरो प्रश्न गरोस्: सांसद् क्रान्तिशिखा

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १२:५४, काठमाडौँ

रास्वपाकी सांसद क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले महिलाको सुन्दरताको बखान गर्न छाडेर बौद्धिक रूपमा गहिरो प्रश्न गर्नुपर्ने बताएकी छन्। 

सार्वजनिक स्थल र सञ्चार माध्यममा महिलाका मुद्दाभन्दा पनि बाह्य रूपलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएकी हुन्। 

आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा आएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई आफ्नो व्यवहार र प्रश्न गर्ने शैलीमा सुधार गर्न पनि आग्रह गरेकी छन्।  

‘पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति मेरो सधैं सम्मान र आत्मीयता रहँदै आएको छ। तर लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण मोडमा केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्नु आवश्यक ठानेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा “राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु। यो  व्यक्तिगत टिप्पणी  लाग्ला तर  सोच्नुस त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो।’

उनले महिलाहरुले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएको चर्चा गर्दै भनेकी छन्, ‘बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ र सार्वजनिक बहसको स्तरलाई घटाउँछ।’

उनले यसो भन्दै गर्दा  महिला आफैंले पनि के गर्ने, के नगर्ने भन्नेमा उत्तिकै सचेत हुनुपर्नेमा जोड दिएकी छन्। ‘अरुले लगाइदिएको सौन्दर्यको लेपनमै  हौसिरहेका छौ भने, आफुलाई सुधारौँ,’ उनले भनेकी छन्। 

‘तपाईंले बोक्नु भएको  माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म  छन्।  त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्,’ सञ्चारकर्मीलाई उनले भनेकी छन्। 

‘म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्। मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ,’ उनले भनेकी छन्, ‘प्रश्न गर्ने स्तर उकास्नुहोस्। केही युट्युब च्यानलहरू आफैं मुख्यधारा मिडियासँग प्रतिस्पर्धामा उभिएका छन् आवश्यक परे त्यहाँबाट पनि सिक्नुस्। हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौं र आवश्यक तयारीका साथ उभिनेछौं।
सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो। राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततः त्यही संस्कारलाई बलियो बनाउने त हो जसविरुद्ध हामी उभिदै आयौँ।’
  
उनले मिडिया सूचना दिने माध्यम  मात्रै नभएर समाजको चेतना निर्माण गर्ने शक्ति पनि भएकाले जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बन्नुपर्नेमा पनि जोड दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad