देशभर तापक्रम बढेको छ।
आज काठमाडौँ उपत्यकामा पनि गर्मी महसुस भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नै १८.५ डिग्री सेल्सियसमा उक्लिएको छ।
आज उपत्यकाको अधिकतम तापक्रम भने २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ।
आज सबैभन्दा बढी न्यूनतम तापक्रम भैरहवामा २५.४ डिग्री सेल्सियस छ। त्यहाँ आज अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
हेर्नुहोस् तापक्रम सूची (न्यूनतम तापक्रम आजको र अधिकतम हिजोको)

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
आज दिउँसो र राति विभिन्न सहरको तापक्रम कस्तो हुन्छ? तलको फोटोमा हेर्नुहोस्

आज यी स्थानमा वर्षा-हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशसहित देशका पहाडी र हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ।
यस्तै राति देशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको छ।
मौसम महाशाखाका माौसमविद् हरिप्रसाद दाहालले नेपालखबरसँग भने, 'आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।'

Shares

प्रतिक्रिया