ad ad

समाज


कोरोनाले सुत्केरीको मृत्यु भएपछि गोंगबुमा सन्त्रास, सिल गरेर परीक्षण गरिँदै

कोरोनाले सुत्केरीको मृत्यु भएपछि गोंगबुमा सन्त्रास, सिल गरेर परीक्षण गरिँदै

नेपालखबर
जेठ ४, २०७७ आइतबार ४:८,

काठमाडौंको गोंगबुमा डेरामा बस्ने सिन्धुपाल्चाेककी महिलाकाे मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि अहिले त्यस क्षेत्रमा सन्त्रास फैलिएको छ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया ती महिला सुत्केरी हुनु अघिसम्म डेरामा बसेकाे गोंगबु क्षेत्र टोखा नगरपालिका वडा नम्बर ९ मा पर्छ।

‘उनको मृत्यु कोरोनाले भएको भन्ने पुष्टि हुनेबित्तिकै हामीले शनिबार राति उक्त वडा सिल गरिसकेका छौं,’ आइतबार बिहान नेपालखबरसँग टाेखा नगरपालिकाकी उपमेयर ज्ञानमाया  डंगोलले भनिन्, ‘आज चिकित्सकसहितको टोली त्यस क्षेत्रमा जाँदै छ।’

यो पनिः नेपालमा कोरोनाबाट पहिलो मृत्यु: गोंगबुमा बस्थिन्, हिंडेरै अस्पताल पुगेकी थिइन्

उनका अनुसार ती महिला डेरामा बस्ने गरेकाे घर गोंगबु बसपार्क नजिकै पर्छ। 

अहिले ती महिला बस्ने घर, वरपरका छिमेकी तथा उनीसँग सम्पर्क गरेका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेकाे उपमेयर डंगोलले जानकारी दिइन्। उनी बस्ने घरमा कति जना बस्छन् भन्ने थाहा भइनसकेकाे तर तरकारी बजारमा काम गर्ने व्यक्ति पनि त्यही घरमा बस्ने गरेको बुझिएको उनले बताइन्।

तर ती महिला सुत्केरी हुन वैशाख २२ गते त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) गएको र त्यहाँ बच्चा जन्माइसकेपछि सीधै घर सिन्धुपाल्चोकको बाह्रबिसेस्थित राम्चे गएको भन्ने जानकारी पाइएकाे उपमेयर डंगोलकाे भनाइ छ। 

याे पनि: नेपालमा कोरोना संक्रमणले पहिलो मृत्यु: स्वास्थ्य मन्त्रालय

‘आवश्यकता हेरी आरडीटी र पीसीआर परीक्षण गर्ने तयारी छ,’ उनले भनिन्, ‘सर्वप्रथम उनी बस्ने घरका सबै सदस्य, उनलाई जाँच गर्ने स्वास्थ्यकर्मी र नजिकको सम्पर्क गर्ने अन्य व्यक्तिको चाहिँ पीसीआर परीक्षण गर्ने योजना छ।’

उनका अनुसार ती महिलाका श्रीमानले राहतसमेत लिएका थिए, त्यस क्रममा वडाका जनप्रतिनिधिसँग पनि उनकाे सम्पर्क भएकाे थियाे। साथै ती सुत्केरीलाई स्याहार गर्ने एक युवती पनि अहिले त्यहीं रहेको बुझिएको उपमेयर डंगोलले बताइन्।

‘अहिले यस क्षेत्रमा व्यापक त्रास फैलिएको छ,’ उनले भनिन्, ‘तत्काललाई हामीले टोखाको वडा नम्बर ९ मात्रै सिल गरेका छौं, सँगै जोडिएका १० र ११ वडा पनि बन्द गर्नुपर्ने स्थानीयले माग गरिरेहका छन्।’

त्यसबारे चाहिँ वडा नम्बर ९ मा गरिएको परीक्षणले कस्तो रिपोर्ट दिन्छ, त्यस आधारमा थप निर्णय गरिने उनले बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .