ad ad

समाज


काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण, नयाँ संक्रमितको संख्या ८ पुग्यो

काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण, नयाँ संक्रमितको संख्या ८ पुग्यो

नेपालखबर
जेठ ३, २०७७ शनिबार ११:५१,

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ८ पुगेको छ।

आज (शनिबार) अपराह्नसम्मको तथ्यांकअनुसार उपत्यका बाहिरका विभिन्न जिल्लामा घर भई काठमाडौंमा बसोबास गर्ने ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे विज्ञप्तिमार्फत सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा उल्लेख सर्लाही रामनगरकी १८ वर्षीया युवती पनि काठमाडौंकै बासिन्दा भएको खुलेको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार संक्रमित युवतीसहित उनको परिवार लामो समयदेखि काठमाडौं बसिरहेको पाइएको हो।

ती युवतीसमेत मंगलबारयता अहिलेसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने ८ व्यक्ति संक्रमित प्रमाणित भएका हुन्।

यसअघि शुक्रबारसम्म काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट ७ जना संक्रमित भइसकेको जानकारी स्वास्थ्य मन्त्रालयले दिइसकेको छ।

तिनमा काठमाडौं सतुंगल (चन्द्रागिरि नगरपालिका) बस्ने ७ वर्षका बालक, काठमाडौंकै एक अस्पतालमा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय पुरुष, काठमाडौं दहचोक (चन्द्रागिरि नगरपालिका) बस्ने ७ वर्षका बालक र चन्द्रागिरि बस्ने ३२ वर्षीय पुरुष छन्। त्यस्तै चन्द्रागिरि नै बस्ने ३३ वर्षीया महिला तथा भक्तपुर बस्ने २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन्। 

यी संक्रमित सबै बाहिरी जिल्लाका तर काठमाडौंमा बस्ने बासिन्दा हुन्।

अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्।

यसअघि काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका बिरामी निको भइसकेका छन्।

देशव्यापी लकडाउन सुरु भएपछि उपत्यकाबाट बाहिरिएकाहरू फेरि धमाधम यतै फर्किन थालेपछि यहाँ फेरि संक्रमण बढ्दै गएको हो।

यसैकारण सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउन कडा पारेको छ। चार संक्रमित फेला परेको चन्द्रागिरि नगरपालिकाले त आज शनिबारदेखि जेठ ७ गतेसम्मलाई घरबाट समेत निस्कन नपाउने गरी आफ्नो क्षेत्र सिल नै गरेको छ।

याे पनि: ‘सिल’ नगरपालिका चन्द्रागिरिका मेयर भन्छन्ः नजाँचेर मात्रै, काठमाडौंमा कोरोना भयावह छ

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार दिउँसो सवा ४ बजे दिएको जानकारीअनुसार देशभरका सबै गरेर अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको छ। जसमा २२४ पुरुष र ५४ महिला छन्। तर तीमध्ये ३६ जना निको भइसकेका छन्।

काठमाडौंसहित अहिलेसम्म २६ जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेको उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .