देशभरका सरकारी तथा निजी मेडिकल र डेन्टल कलेजमा अध्ययनरत एमबीबीएस तथा बीडीएसका इन्टर्न चिकित्सकहरूले स्टाइपेन्डको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा सिंह मेहतासँग भेट गरेका छन्।
बिहीबार भएको भेटमा इन्टर्नहरूको टोलीले सबै कलेजमा लागू हुने गरी न्यूनतम स्टाइपेन्डको मापदण्ड निर्धारण गर्नुपर्ने माग राखेका थिए। उनीहरूले इन्टर्नसिप अवधिमा समान काम गर्दा पनि पारिश्रमिकमा ठूलो भिन्नता रहेको गुनासो गरेका छन्।
प्रतिनिधिमण्डलका अनुसार, यही विषयमा उनीहरूले शिक्षा तथा श्रम मन्त्रालयको समेत औपचारिक रूपमा ध्यानाकर्षण गराइसकेका छन्।
भेटका क्रममा मन्त्री मेहताले इन्टर्न चिकित्सकका मागप्रति सरकार गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, मेडिकल कलेजहरूसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने पहल भइरहेको पनि उनले जानकारी दिइन्।


Shares

प्रतिक्रिया