हाल (शुक्रबार बिहान) कोसी प्रदेशसहित देशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी पहाड र तराईमा मौसम मुख्यतया सफा छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान, कोसी प्रदेशको तराई तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना छ।
यस्तै राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।
यसैबिच काठमाडौँ उपत्यकामा भने आज बिहानैदेखि मौसम सफा छ।
मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा बादल खासै छैन।
‘भिजिबिलिटी पनि ६ हजार मिटर छ’, उनले नेपालखबरसँग भनिन्, ‘आज पानी पर्ने सम्भावना पनि खासै देखिएको छैन। अर्थात् सम्भावना एकदम कम छ।’

Shares

प्रतिक्रिया