समाज


बुटवलमा तरकारीमा अत्यधिक विषादी, १२० केजी बोडी नष्ट

बुटवलमा तरकारीमा अत्यधिक विषादी, १२० केजी बोडी नष्ट

प्रदीप आचार्य
चैत २५, २०८२ बुधबार १३:१९, बुटवल

बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेपछि ठूलो परिमाणमा तरकारी नष्ट गरिएको छ। 

चितवनबाट ल्याइएको बोडीमा परीक्षण गर्दा अर्गानो फस्फेट समूहको विषादी ९७.०७ प्रतिशतसम्म भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले जनाएको छ। बुटवल-६ स्थित बजारमा ल्याइएको १५० किलोग्राम बोडीमध्ये १२० केजी बुटवल उपमहानगरपालिकासँग समन्वय गरी डम्पिङ साइडमा नष्ट गरिएको छ। बाँकी ३० केजी भने पहिले नै बिक्री भइसकेको पाइएपछि सम्बन्धित उपभोक्तालाई जानकारी गराएर नष्ट गर्न लगाइएको छ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजिव भण्डारीका अनुसार नियमित परीक्षणका क्रममा बोडीमा अत्यधिक विषादी देखिएको हो। ‘९७.०६७ प्रतिशत भनेको सिधै विषादीको मात्रा होइन, यो इनहिबिसन प्रतिशत हो, जसले शरीरमा उत्पादन हुने इन्जाइमलाई कति प्रतिशत अवरुद्ध गर्छ भन्ने जनाउँछ,’ भण्डारीले भने। 

उनका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेमा भने त्यस्ता तरकारीलाई अनिवार्य रूपमा नष्ट गरिने गरिएको छ।

प्राविधिकहरूका अनुसार विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी भेटिने गरेको छ। किसानले विषादी प्रयोग गरेपछि कुर्नुपर्ने ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिएको उनीहरूको भनाइ छ।

उपभोक्तालाई सचेत गराउँदै भण्डारीले बजारबाट किनिएको हरियो तरकारी तुरुन्त उपभोग नगरी एक–दुई दिन फ्रिजमा राखेर प्रयोग गर्दा विषादीको मात्रा केही हदसम्म घट्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad