मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार दिउँसो) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार ‘पानी पार्ने प्रणाली पूर्वतिर फैलिँदै गइरहेको छ।’
यतिबेला काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान, मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै आज राति कोसी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया