मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अंगदान बढाउन छलफल सुरु भएको छ।
नेपाल अंगदान फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० अस्पतालका चिकित्सक र नर्स सहभागी भएका छन्। मस्तिष्क मृत्युपछि कसरी अंगदान गर्ने भनेर छलफल गरिएको छ।
अंगदान फाउन्डेसनका संस्थापक अध्यक्ष डा. प्रदेज सापकोटाले मस्तिष्क मृत्यु भएका व्यक्ति अस्पताल आएपछि के गर्ने, अंगदानबारे मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारलाई कसरी बुझाउने, अंगदानको प्रक्रिया कसरी मिलाउने भन्ने बारे चिकित्सक र नर्सलाई जानकारी दिन छलफल गरिएको बताए।
जनचेतनाको अभाव र स्वास्थ्य मन्त्रालयको समन्वयको अभावका कारण मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान हुन नसकेको उनको भनाइ छ। ‘नेपालमा अंगदान सम्बन्धी कानुन निर्माण भएको १० वर्ष भयो। यो अवधिमा मस्तिष्क मृत्यु भएपछि अंगदान गर्न ७ जनाको ले मात्र स्वीकृति दिएका छन्,’ सापकोटाले थपे, ‘मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान हुन सके धेरै व्यक्तिलाई नयाँ जीवन दिन सकिन्छ भनेर जानकारी दिन देशभरका निजी र सरकारी अस्पतालका चिकित्सक र नर्ससँग छलफल गरेका हौँ।’
अंग प्रत्यारोपणमा आवश्यकता अनुसार अंग प्राप्त नभएको भन्दै उनले मस्तिष्क मृत्यु भएको मानिसको २४ घण्टासम्म अंग जीवित रहने भएकाले प्रत्यारोपण गरेर धेरै व्यक्तिको ज्यान बचाँउन सकिने बताए। ‘मस्तिष्क मृत्यु भनेको नै मृत्यु नै हो। यस्ता व्यक्तिको अंगदान हुन सके मिर्गौला, कलेजो फेल भएका धेरै व्यक्तिलाई नयाँ जिवन दिन सकिन्छ,’ डा. सापकोटाले भने।

चिकित्सकका अनुसार अंगदान दुई प्रकारले गर्न सकिन्छ। जीवित दाताले गर्ने अंगदान र मृतकले गर्ने अंगदान। जीवित अवस्थामै मृत्यु पश्चात आफनो अंगदान गर्छु भनेर स्वीकृति दिने व्यवस्था रहेको छ।
सरकारले मानव अंग प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ। सडक दुर्घटना वा अन्य कारणले मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारले अंगदान गर्न स्वीकृत दिए समन्वय एकाइमा खबर गर्नुपर्छ। मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सक सम्बन्धित अस्पतालमा पुगी अंग निकालेर आवश्यक पर्ने बिरामीमा प्रत्यारोपण गर्छन्।
नेपालमा हाल मिर्गौला, कलेजो र आँखा दान गरेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने गरिन्छ। मुटु, फोक्सो, प्यांक्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुनसकेको छैन।
सरकारले मस्तिष्क मृत्यु भएका मानिसको आफन्तले अंग निकाल्न स्वीकृत दिएमा २ लाख दिने व्यवस्था गरेका छ। यस्तै मस्तिष्क मृत्यु भएको सूचना दिने अस्पताललाई ७५ हजार दिने गरेको छ।
Shares

प्रतिक्रिया