समाज


उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

पूर्णप्रसाद मिश्र
जेठ १, २०७७ बिहिबार १२:५,

कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन्।

यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन्। बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ। यो मार्गबाट सवारी लिएर जान पूर्वाधार नभए पनि पैदल हिँड्ने मानिस हुन्छन्।

नगर प्रमुख उद्धवप्रसाद खरेल सो नाकाबाट आउन निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले नै कडाइ गरेको जानकारी दिए। सो नाकाबाट भन्दा रातारात तराईबाट आउनेका कारण नगरवासीमा त्रास फैलिएको उनले बताए।

‘हिजो रातिमात्र लहानबाट बिरामी आएपछि स्थानीयवासीमा त्रास फैलियो, क्वारेन्टिनमा व्यवस्थितरुपमा राख्ने व्यवस्थासमेत नभएकाले घरमै बस्न भनिएको छ, तीन दिनबीचमा तराईबाट रातारात आउनेको संख्या नगरपालिकामा १०० पुगिसकेको छ’ उनले भने।

गोकर्णेश्वरबाट पनि निकुञ्जकै बाटो हुँदै सिन्धुपाल्चोक र नुवाकोट जाने बाटो छ। गोकर्णेश्वरबाट भने दुवै जिल्ला जाने सडकसमेत रहेकाले नेपाली सेनाले नै आवतजावतमा कडा गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए।

नगरपालिकाको वडा नं १ स्थित निकुञ्जभित्रको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्तीका मानिसलाई पास दिएरमात्र आवतजावतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। बाहिर जिल्लाबाट आउनेलाई भने स्थानीय युवाले नै प्रवेश निषेध गरेका छन्।

कागेश्वरी मनोहरा नगरपालिकाको निकुञ्ज क्षेत्रबाट पनि दुवै जिल्लाका मानिस हिँडेर आउन सक्ने बाटो छ। यो बाटोमा पनि सेनाले नै कडाइ गर्न लागेको छ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छिर्ने दुई नाका भएको शङ्खरापुर नगरपालिकाले दुवैतिर कडाइ गरेको छ। नगरपालिकाको वडा नं ३ जहरसिंह पौवामा आज बिहानैदेखि युवा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले संयुक्तरुपमा हिँडेर आउने मानिसलाई रोक लगाएका छन्।

वडाध्यक्ष सन्तबहादुर वाइवा स्वतःस्फूर्तरुपमा स्थानीय युवा सक्रिय भएर जनप्रतिनिधिको दबाबमा समेत मानिस छिर्न नदिने भनी निगरानी गरिरहेको बताउँछन्। स्थानीय युवाले जहरसिंहबाट साँखु झर्न वडा नं १, २ र ३ का मानिसलाई समेत प्रतिबन्ध लगाएका छन्।

यसैगरी नगरपालिकाको वडा नं ५ को कात्तिक नाकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक छिर्न प्रतिबन्ध लगाइएको अध्यक्ष शेरगम्भीर थापाले बताए। दिउँसो स्थानीयवासी युवाको सक्रियतामा रोकिए पनि राति हिँड्नेका कारण समस्या आएको उनले सुनाए। उपत्यका बाहिरबाट भित्रिएका तीनजनामा मंगलबार कोरोना भेटिएपछि आजदेखि सबै नाकामा कडाइ गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad