समाज


बालेनको गाडी र रहबरको ड्रेस, शपथमा देखियो नयाँ ‘क्रेज’

बालेनको गाडी र रहबरको ड्रेस, शपथमा देखियो नयाँ ‘क्रेज’

रास्वपा सांसद बालेन आफैँ गाडी चलाएर संसद पुगेका थिए।


नेपालखबर
चैत १२, २०८२ बिहिबार १८:५०, काठमाडौँ

बिहीबार दिउँसो २ बजे। पछिल्ला दिनमा सुनसानप्रायः रहने सिंहदरबारको मूल गेटदेखि नयाँ भवनको परिसरसम्म एकाएक तातियो। 'जेनजी' आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलेर क्षतिग्रस्त भएपछि यस पटक नवनिर्वाचित सांसदहरूको सपथ सिंहदरबारको अस्थायी हलमा सारिएको थियो।

जनताको सार्वभौमसत्ता प्रयोग गर्ने सर्वोच्च थलोमा नयाँ अनुहारको प्रवेशले संसद् सचिवालयका कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई बिहीबार भ्याइनभ्याइ भयो। गत फागुन २१ को निर्वाचनबाट चुनिएका सांसदहरूलाई २ बजेअगावै बोलाइएको थियो, तर कतिपय सांसदहरू सवारी जाम र सिंहदरबारभित्रको बदलिएको भूगोलका कारण अन्तिम समयसम्म दौडादौड गर्दै प्रवेश गरिरहेका देखिन्थे।

बालेन र प्रचण्डको त्यो अलमल
सपथ ग्रहणमा केही रोचक दृश्यहरू कैद भए। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफैँ गाडी चलाएर सिंहदरबार छिरेका थिए। हलभित्र छिर्ने क्रममा बालेन र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' झुक्किएर बन्द भएको ढोकातिर पुगेका थिए। सुरक्षाकर्मी र सञ्चारकर्मीको बाक्लो घेराका कारण कुन द्वारबाट छिर्ने भन्नेमा दुवै नेता केही बेर अलमलिएका थिए। सपथ सकिएलगत्तै बालेन अरूभन्दा छिटो बाहिरिएका थिए।

स्कूले ड्रेसमा सपथ लिन संसद भवन पुगेका रहबर अन्सारी
यो सपथ ग्रहण मानवीय दृश्यका कारण पनि चर्चामा रह्यो। रास्वपाका सांसद पुकार बम आफ्नो सानो बच्चालाई काखमा लिएरै सपथ हलमा छिरेका थिए। सोही पार्टीका सांसद रहबर अन्सारी भने विद्यालयको विद्यार्थी पोसाकमा पुग्दा सबैको आकर्षणको केन्द्र बने। अधिकांश सांसदहरू आ-आफ्नो जातीय पहिचान र मौलिक भेषभूषामा सजिएर आएका थिए भने अपाङ्गता भएका सांसदहरूका लागि ह्विलचेयरको व्यवस्था गरिएको थियो।

साँघुरो हल, प्रविधिको सहारा

सिंहदरबारको नयाँ भवन अझै निर्माणाधीन अवस्थामा रहेकाले सपथका लागि 'बहुउद्देश्यीय हल' प्रयोग गरिएको थियो। हल सानो भएकाले दर्शकदीर्घाको अभाव देखिन्थ्यो। सांसदका परिवार र सर्वसाधारणका लागि भुइँतलामा ठूलो डिजिटल स्क्रिनमार्फत सपथको प्रत्यक्ष दृश्य देखाइएको थियो।

बानेश्वरको व्यवस्थित संरचनाभन्दा सिंहदरबारको यो 'अस्थायी प्रबन्ध' मा केही असुविधा पनि देखिए। निर्माणाधीन परिसरका कारण पार्किङ अस्तव्यस्त थियो भने पत्रकारहरूका लागि प्रतिक्रिया लिने ठाउँ साँघुरो र धुलोमैलो थियो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संविधानको धारा ८८ बमोजिम सपथ गराएपछि सांसदहरूले आफ्नो कोटमा नयाँ 'लोगो' र ब्याज सजाएर बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad