ad ad

समाज


बीओपीमा रहने टोली लिएर सशस्त्रका एआईजी बुधबार छाङरु जाने

बीओपीमा रहने टोली लिएर सशस्त्रका एआईजी बुधबार छाङरु जाने

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १२:५९,

सीमा सुरक्षाका लागि सरकारले दार्चुलाको छाङरुमा बुधबार सशस्त्र प्रहरी पठाउने तयारी गरेको छ।

दार्चुलाको सदरमुकामबाट २५ जना सशस्त्र प्रहरी र आवश्यक सामग्री लैजानका लागि गृह मन्त्रालयले सोमबार नेपाली सेनाको हेलिकोप्टर माग गर्दै पत्र पठाएको गृह श्रोतले जानकारी दिएको छ।

बीओपीमा रहने टोली लिएर सशस्त्र प्रहरीका एआईजी नारायण बहादुर थापासहितको टोली त्यहाँ जान लागेको हो।

लिपुलेक क्षेत्रमा सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय ६ महिना पहिले नै भएपनि आवश्यक संरचनाको अभावमा बीओपी स्थापना हुन सकेको थिएन। गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि तत्काल अस्थायी बीओपी खडा गर्न लागिएको हो।

सशस्त्र प्रहरी बस्नका लागि छाङरुमा घर भाडामा लिइसकिएको दार्चुला गुल्मका सशस्त्र प्रहरी प्रमुख डीएसपी डम्बरबहादुर बिष्टले बताए।

उनले भने, ‘हामीले घर भाडामा लिएका छौं, आवश्यक सामग्री पनि संकलन गर्दैछौं, बुधबार जाने भन्ने मौखिक जानकारी आइसकेको छ।’ दार्चुला गुल्मले ६ महिनाका लागि खाद्यन्नसहितका सामग्री तयार गरिसकेको डीएसपी बिष्टले बताए।

प्रहरी निरीक्षकको कमान्डमा टोली पठाउने भए पनि कसको नेतृत्वमा पठाउने भन्ने टुंगो लागिसकेको छैन। दार्चुला गुल्ममा दुई जना प्रहरी निरीक्षक छन्।

हिँडेर जाँदा एक हप्ता लाग्ने भएपछि हेलिकोप्टरमार्फत पठाउन लागिएको हो। ‘हिँडेर जाँदा भारतको भूमिबाट छाङरु पुग्न छिटो हुन्छ। तर, हतियारसहित जान पाइदैन, केही समय पहिले म पनि भारतको बाटो भएरै त्यहाँ पुगेको थिएँ’, डीएसपी बिष्टले भने।

भारतले सडक निर्माण गरेभन्दा १३ किलोमिटर तल सशस्त्र बस्न लागेको हो। ‘योभन्दा उत्तम विकल्प अरु ठाउँ छैन। सशस्त्रले बनाउने भनेको बीओपी भवन पनि ५ सय मिटरको दुरीमा छ। आफ्नो भवन तयार नहुँदासम्म सशस्त्र यही घरमा बस्ने छ’, डीएसपी बिष्टले भने।

यसअघि नेपाल प्रहरी ६ महिना यहाँ बसेर फर्किने गरेको भए पनि सशस्त्रले १२ महिनानै छाङरुमा बस्ने भएको हो। भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेपछि यो विषय चर्किएको हो। आफ्नो भूमि मिचेको भन्दै नेपालमा भारतको चर्को विरोध भइरहेको छ। सोमबार युवाहरुले राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। यसबाहेक पनि विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको छ।

यता संसदमा समेत भारतको यो कदमको विरोध भइरहेको छ। सांसदहरुले कुटनीतिक माध्यमबाट तत्काल समाधान खोज्न सुझाएका छन्। यही विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई नेपाली भूमिमा सडक बनाएको विषयमा सोधपुछ गर्दै कुटनीतिक नोट बुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .