समाज


विदेशबाट फर्किनेभन्दा जाने बढी, चुनाव घोषणापछि बाहिरिए साढे ७ लाख नेपाली

असोज १५ पछि बाहिरिनेको संख्या ३९ हजार ज्यादा
विदेशबाट फर्किनेभन्दा जाने बढी, चुनाव घोषणापछि बाहिरिए साढे ७ लाख नेपाली

उजिर कार्की
फागुन १९, २०८२ मंगलबार १७:२७, काठमाडौँ

सोमबारदेखि निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। ४८ घण्टाको मौन अवधिपछि बिहीबार मतदान हुँदै छ। 

घरदैलो र आमसभाका क्रममा दलहरूले विदेशमा काम गरिरहेका मतदातालाई नेपाल फर्किएर भोट हाल्न अपिल गरेका छन्। नेपालमै भएका युवालाई पनि चुनाव जितेपछि रोजगारी दिने सपना बाँडिरहेका छन्। चुनाव पहिले विदेश नजान उनीहरुको अनुरोध छ। 

तर दलहरूको आश्वासनले न विदेशमा भएका नेपालीलाई फर्किन उत्साह दिएको देखिन्छ न त यहाँ भएकाहरूलाई नै रोकेको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार अघिल्ला वर्षमा भन्दा फेब्रुअरीमा २० प्रतिशत बढी विदेशिएका छन्। सन् २०२५ को फेब्रुअरीमा एक लाख २५ हजार ८६६ जना नेपाली विदेश गएका थिए। 

सन् २०२४ को फेब्रुअरीमा भन्दा एक प्रतिशत घटेको थियो। अघिल्लो वर्षमा यो महिना एक लाख ३२ हजार ४३९ जना विदेश गएका थिए। तर सन् २०२६ को फेब्रुअरीमा –माघ १८ गतेदेखि फागुन १६ गतेसम्ममा एक लाख ४९ हजार ८९५ जना नेपाली विदेशिएको अध्यागमन विभागले जनाएको छ। 

यो अवधिमा नेपालबाट फर्किने विदेशिको संख्या पनि बढेको छ। फेब्रुअरीमा एक लाख ७ हजार ४६९ जना विदेशीले नेपाल छाडेका छन्। अघिल्लो वर्षको यो महिना ९६ हजार ८८० जना मात्रै विदेशी फर्किएका थिए। सन् २०२४ फेब्रुअरीमा ९३ हजार ४५५ जना विदेशी नेपालबाट फर्किएका थिए। 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अझै बढेको छ। अध्यागमन विभागकै तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको फेब्रुअरीमा ३३ प्रतिशत बढि वैदेशिक रोजगारीमा गएका छन्।  

यही महिना सन् २०२४ मा भन्दा २०२५ मा ९ प्रतिशतले घटेको थियो। सन् २०२४ मा ६५ हजार ९३२, सन् २०२५ मा ६० हजार १९२ जना एक महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका थिए। तर यो वर्षको एकै महिनामा ८० हजार ४६१ जना विदेशिएका हुन्।

विदेश जानेको तुलनामा फर्किनेको संख्या कम छ। फेब्रुअरीमा एक लाख ४८ हजार ६३२ जना नेपाली फर्किएका छन्। यस्तै एक लाख १५ हजार ४४२ जना विदेशी नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलामा बढी हो। सन् २०२५ मा एक लाख १५ हजार ५८४ जना नेपाली आएका थिए। सन् २०२४ को एक महिनामा एक लाख ११ हजार ८०८ जना आएका थिए।  

वैदेशिक रोजगार विभागका उप–महानिर्देशक चन्द्रबहादुर सिवाकोटीले पनि वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए।

‘यो फागुन महिनामा पनि बढिरहेको छ। माघ महिनामा पनि ७० हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए। चुनाव नजिकिँदै जाँदा पनि संख्या बढिरहेको देखिन्छ,’ उप–महानिर्देशक सिवाकोटीले नेपालखबरसँग भने, ‘अहिले त पूर्वस्वीकृति लिनेहरूको संख्या पनि दिनदिनै बढिरहेको छ।’

असोज १५ गतेदेखि फागुन १६ गते सम्ममा (अक्टोबर–फेब्रुअरी) ७ लाख ३२ हजार ८१५ जना नेपाली फर्किएका छन्। 

यही अवधिमा नेपालबाट बाहिरिनेको संख्या ७ लाख ७२ हजार ६० छ। अर्थात् नेपाल आउनेभन्दा बाहिरिनेको संख्या ३९ हजार २४५ जना बढी छ। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले रोजगारीका लागि विदेश जाने नेपालीलाई चुनावको चासोभन्दा आफ्नै रोजीरोटीको चिन्ता देखिएको बताए। 

उनले भने, ‘नेपालमा भरपर्दो रोजगारी छैन। चुनावपछि रोजगारी पाइन्छ भन्नेमा पनि उनीहरू ढुक्क देखिँदैनन्। भिसा आइसकेपछि जान्छु भन्नेहरूलाई त उडाउनै पर्यो।’

भिसा आइसकेका व्यक्तिहरू विदेश गएपछि कमाउन सुरु हुने भएकाले पनि नेपालमा चुनाव पर्खिएर नबसेको उनले बताए। 

‘चुनाव जसले जिते पनि रोजगारीको के ग्यारेन्टी छ र? पछि राम्रो भयो भने त फर्किन मिल्यो नि। परिवार पाल्न विदेश जानुपर्ने बाध्यता छ। नेपालमा वातावरण नबनेसम्म गइरहन्छन्। गएकाहरू पनि फर्किन लर्को लागेको देखिँदैन,’ अध्यक्ष गुरुङले भने। 

वैदेशिक रोजगारीमा रहेकाहरूले आफू रहेकै देशबाट मतदान गर्न पाउने व्यवस्थाका लागि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्च अदालतमा पनि त्यसका लागि आवश्यक व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई आदेश दिएको थियो। 

तर तत्काल यो कार्यान्वयन गर्न सरकारले सकेन। विदेशमा भएकाहरूलाई मतदानका लागि स्वदेश फर्किन र आफ्नो अधिकार प्रयोग गर्न अनुरोध गर्‍यो। सरकारको अनुरोध मानेर केही फर्किए पनि त्यसभन्दा बढी यहीँ भएकाहरू परदेशको बाटो लागे। 

पछिल्ला ५ महिनाको तथ्यांक 
जेनजी आन्दोलनलगत्तै अक्टोबर महिनामा विदेशबाट एक लाख ४९ हजार ८४४ जना फर्किएका छन्। यो विवरण १८० देशको हो। यो अवधिमा विदेश जानेको संख्या कम थियो। अक्टोबरमा नेपालबाट १ लाख ४४ हजार ८७० जना गएका थिए। 

नेपालीका प्रमुख श्रम गन्तव्य यूएईबाट २६ हजार १९१ जना फर्किंदा २० हजार १९५ जना त्यो महिना यूएई गएका थिए। कतार जानेको संख्या १३ हजार ७९८ र कतारबाट आउने नेपालीको संख्या १७ हजार ३०४ छ। साउदी अरबबाट १३ हजार ४०५ फर्किए तर त्यो महिना त्यहाँ जानेको संख्या ९ हजार २२७ मात्रै छ। मलेसियाबाट ११ हजार ८७९ फर्किंदा यही अवधिमा ७ हजार ५५१ जना मलेसिया पुगेका थिए। 

तर नोभेम्बर महिनामा नेपाल आउनेभन्दा नेपालबाट जानेको संख्या निकै बढी छ। १७८ देशबाट एक लाख ३४ हजार ७१२ जना नेपाल आएकोमा यहाँबाट एक लाख ६० हजार ९७२ जना बाहिरिएका छन्।

प्रमुख चार गन्तव्य यूएईबाट २३ हजार ४३ जना फर्किँदा २० हजार ३३० जना विदेशिए। साउदीबाट १० हजार ५५६ जना नेपाल आउँदा यहाँबाट १७ हजार ८५४ जना विदेशिएको अध्यागमन विभागको तथ्यांकले जनाएको छ। मलेसियाको भने आउने र जानेको संख्या झण्डै बराबरी छ। ११ हजार ३५३ जना नेपाल आउँदा यहाँबाट ११ हजार ६०७ जना गएका छन्। 

कतारबाट पनि फर्किनेभन्दा त्यहाँ पुग्नेकै संख्या बढी छ। १४ हजार ११२ जना आएकोमा १८ हजार ५५९ जना कतार पुगेका छन्। 

डिसेम्बरमा पनि आउनेभन्दा जाने नै बढी छन्। एक लाख ४१ हजार ४९० जना नेपाल आइपुगेका थिए। तर नेपाल छाड्नेको संख्या एक लाख ६८ हजार ६६५ छ। यूएईबाट नेपाल आउनेको संख्या २३ हजार ७८८ र जानेको संख्या १७ हजार ९०२ छ। साउदीबाट ११ हजार ४४३ जना आएका र १८ हजार ७२४ जना बाहिरिएका छन्। 

मलेसियाबाट १२ हजार ५४३ जना फर्किँदा १२ हजार २६ जना त्यहाँ गएका छन्। कतारबाट नेपाल फर्किने भन्दा त्यहाँ पुग्नेको संख्या बढी छ। १५ हजार २७८ जना नेपाल आएकामा १९ हजार २० जना कतार गएका छन्।

अघिल्लो महिना अर्थात् जनवरीमा भने नेपालबाट जानेभन्दा नेपाल आउनेको संख्या बढी थियो। सरकारी तथ्यांकअनुसार एक लाख ५८ हजार १४६ जना नेपाल आएकोमा एक लाख ४७ हजार ६५८ जना विदेशिएका थिए।

मलेसिया १५ हजार १४० जना आउँदा १० हजार ७९९ जना विदेशिएका छन्। साउदीबाट १३ हजार ३३६, कतारबाट १८ हजार ३५५ र यूएईबाट २६ हजार ४७४ जना नेपाल आएका थिए। तर १४ हजार ५९४ साउदी, १५ हजार ८६५ र यूएईमा १८ हजार ४२४ जना पुगेका छन्। 

तर, चुनाव नजिकिँदै जाँदा फेब्रुअरीमा भने आउनेभन्दा जानेको संख्या बढेको देखिएको छ। अध्यागमनको तथ्यांकअनुसार १७६ देशबाट आउनेभन्दा नेपालबाट ती देशमा जानेको संख्या बढी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad