गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनबारे बीबीसीले तयार पारेको भिडिओ डकुमेन्ट्रीविरुद्ध ‘आवश्यक कारबाही’ गर्न भन्दै निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ।
बीबीसी वर्ल्ड सर्भिसले ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’ वृत्तचित्रमा जेनजी आन्दोलनका बेला तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रदर्शनकारीविरुद्ध गोली हान्न प्रहरीलाई आदेश दिएको दाबी गरिएको छ।
उक्त भिडिओ निर्वाचन आचारसंहिता विपरीत रहेकाले त्यसविरुद्ध आवश्यक कारबाही गर्न बिहीबारै काउन्सिललाई पत्र पठाएर भनिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
‘पत्रमा डकुमेन्ट्री हटाउनू नै भन्ने शब्दचाहिँ छैन, तर त्यो समाचार सामग्री निर्वाचन आचारसंहिताविरीत हो, त्यसविरुद्ध आवश्यक कारबाही गर्न भनेका छौँ’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने।
गत भदौ २३ गते दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि भएको जेनजी प्रदर्शनमा गोली लागेर १९ युवा मारिएका थिए।
बीबीसी वर्ल्ड सर्भिसले तयार पारेको वृत्तचित्रमा तत्कालीन आईजीपी खापुङले त्यस दिन कर्फ्यु लागेको १० मिनेटपछि प्रहरी अधिकृतहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ।
‘खापुङले गोली चलाउन आदेश दिएको अस्वीकार गरेका छैनन्। नेपालका प्रमुख सुरक्षा बल मिलेर बनेको सुरक्षा कमिटीबाट यो आदेश आएको हो। कमिटीको निर्णयअघि आईजीपी खापुङले यस्तो कुनै आदेश दिएका थिएनन्’, वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ।
यस विषयमा बुझ्न खापुङसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन नमानेको बीबीसीले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया