धादिङको बेनीघाट रोराङ-५ भैँसीगौँडामा दुर्घटना भएको यात्रुबाहक बस अघिल्लो साँझ नै पोखराबाट गन्तव्यका लागि छुटेको खुलेको छ। माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सद्वारा सञ्चालित ग २ ख १४२१ नम्बरको उक्त बस ३४ जना यात्रुको चलानी लिएर आइतबार बेलुका ७ बजे पोखराबाट काठमाडौँका लागि प्रस्थान गरेको थियो।
राति करिब १:३० बजे बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो।
पोखराबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङमा दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको छ। रातिको समयमा भएको दुर्घटनामा अन्य २४ जना यात्रु घाइते भएका छन्, जसको काठमाडौँ र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरी र गोताखोरको टोलीले रातभर उद्धार कार्य जारी राखेका थिए। बसका चालक सुजित नेपाली अझै बेपत्ता छन् भने गाडीधनी ओमकुमार श्रेष्ठ पनि सोही बसमा सवार रहेको बुझिएको छ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साहीका अनुसार बसले पोखराबाट आधिकारिक रूपमा ३४ जनाको चलानी लिएको थियो। 'प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,' साहीले भने।
उनका अनुसार घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टर र अन्य विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया