समाज


चुनाव बिथोल्ने समूह सक्रिय बन्दा मधेसमा बढाइयो सुरक्षा, हेडक्वार्टरले थप्यो ६ हजार प्रहरी

पालिकामा २ इन्सपेक्टरका मोबाइल टोली, निर्वाचन क्षेत्रमा डीएसपीको कमान्ड
चुनाव बिथोल्ने समूह सक्रिय बन्दा मधेसमा बढाइयो सुरक्षा, हेडक्वार्टरले थप्यो ६ हजार प्रहरी

उजिर कार्की
फागुन ६, २०८२ बुधबार २२:२६, काठमाडौँ

मधेस प्रदेशमा एक साताभित्र थप ६ हजार प्रहरी खटाइने भएको छ। ७० जना सिनियर अधिकृतसहित विभिन्न दर्जाका प्रहरी कर्मचारी निर्वाचन सुरक्षाका लागि थप गर्न लागिएको हो। 

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले जिल्लाले माग गरेको जनशक्ति प्रहरी प्रधान कार्यालयले पठाइरहेको बताए। डीआईजी काफ्लेका अनुसार केही प्रहरी अधिकारीहरू कार्यक्षेत्रमा हाजिर भइसकेका छन्। केही जाने क्रममा छन् भने फागुन १२ गतेभित्रमा थप गरिएका सबै जनशक्ति कार्यक्षेत्रमा पुगिसक्नेछन्। 

निर्वाचनमा सबैभन्दा सुरक्षा संवेदनशील प्रदेशमा मधेस पर्छ। सोही अनुसार यहाँको सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको दाबी छ। मधेसका हरेक पालिकामा (गाउँपालिका/नगरपालिका) प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा कम्तीमा दुई वटा टोली खटिने भएका छन्। यसका लागि अपुग इन्सपेक्टर पनि काठमाडौँबाट पठाइएको छ। 

यस्तै हरेक निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा टोली रहने भएको छ। डीएसपीले आफ्नो निर्वाचन क्षेत्रभित्रको टोलीलाई समन्वय गर्ने र जिल्लामा रिपोर्ट गर्नेछन्। मधेसका सबै जिल्ला प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा रहनेछन्। 

तर मधेसका ८ वटा जिल्लालाई समन्वय गर्न तीन जना एसएसपीलाई पनि जिम्मेवारी विभाजन गरिएको छ। सिरहा र सप्तरी एक जना एसएसपीले हेर्ने छन्। त्यस्तै, धनुषा, महोत्तरी र सर्लाहीमा अर्को एसएसपीले अनुगमन तथा समन्वय गर्दा रौतहट, बारा र पर्साको जिम्मेवारी अर्को जना एसएसपीलाई दिइएको छ। यसका लागि एसएसपीहरू प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र संघीय प्रहरी कार्यालयकै कमान्डर खटाइने छ। 

‘चुनावमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको छ। यहाँबाट खटाइएको सिनियर अफिसरको टोलीले आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर काम कारबाही सुरु गरिसकेको छ। नपुगेको टोली पनि आउँदो साताभित्रमा पुगिसक्ने छ,’ प्रहरी प्रवक्ता काफ्लेले भने, ‘चुनावको प्रचारप्रसारका क्रममा दुई पक्षबीच झडप हुन नदिन र आपराधिक गतिविधि हुन नदिन बोर्डरमा पनि कडाइ गरिएको छ।’

यसबाहेक हरेक जिल्ला र निर्वाचन क्षेत्रमा रिजर्भ टोली र क्विक रेस्पोन्स टिम (क्यूआरटी) तैनाथ रहनेछ। मधेसका ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्। यी सबै निर्वाचन क्षेत्रको सुरक्षाका लागि अन्य सुरक्षाकर्मीसँग पनि समन्वय गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। 

मधेसमा २८ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिएको छ। उनीहरूलाई पनि हरेक चौकीमा खटाइसकिएको छ। यस्तै सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीसहित आफ्नो गस्ती सुरु गरिसकेको छ। नेपाली सेना पनि माघ २१ गतेबाट गस्तीमा निस्किसकेको छ। 

‘सानोसानो सूचना संकलनका लागि पनि सिभिल टोली फिल्डमा छ। त्यसले तत्काल सूचना संकलन गर्छ र हामी त्यही अनुसार सुरक्षा योजना बनाउँछौँ र अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर सुरक्षा दिन्छौँ,’ काफ्लेले भने।

प्रदेश र केन्द्रमा पनि सोही अनुसारको टोली परिचालन भइरहेको हुन्छ। निर्वाचनका लागि छुट्टै सेल छ। त्यसले निर्वाचनमै केन्द्रित भएर काम गरिरहेको छ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई पक्राउ गरेर कानुन बमोजिम कारबाही पनि भइरहेको उनले बताए। 

तराईका केही जिल्लामा भने दुर्गा प्रसाईंको अभियान र केही धार्मिक समूहले चुनावमा भड्काउने प्रयास गरिरहेको सुरक्षा निकायको विश्लेषण छ। प्रसाईंको समूहले मंगलबार र बुधबार पनि पर्सामा प्रदर्शन गरेको थियो। तर प्रहरीले प्रदर्शनमा उत्रिएका व्यक्तिहरूलाई दिनभर नियन्त्रणमा लिएर साँझ छाडेको छ। 

केहीलाई तारेखमा र केहीलाई कागज गराएर रिहा गराइएको हो। बाराका केही क्षेत्र, सर्लाही र रौतहटका क्षेत्रमा पनि प्रसाईंको समूह सक्रिय देखिएको छ। तर यो समूह सानो संख्यामा रहेकाले निर्वाचन नै बिथोल्ने शक्ति नरहेको सुरक्षाकर्मीको दाबी छ। यही बेला केही धार्मिक समूहहरू भने विभाजन गराउने र भड्काउने प्रयासमा लागेको पनि सुरक्षा विश्लेषण गरिएको छ। एक महिनाअघि पर्साको वीरगन्जमै हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो। अहिले विभिन्न स्वार्थ समूहले त्यही विवाद उप्काउने प्रयास गरिरहेको सुरक्षा विश्लेषण छ। त्यतिबेला साम्य भएको दुई समूहको विवादमा खेल्ने प्रयास भएपछि यस्ता क्षेत्रहरूलाई पनि विशेष निगरानीमा राखिएको छ। 

‘पहिल्यैदेखि मधेसमा धार्मिक समूहहरू भड्काउने प्रयासमा थिए। अहिले केही उम्मेदवारका कारण पनि सुरक्षा स्थिति बिगार्ने प्रयास भइरहेको छ। केही उम्मेदवारले धार्मिक हिसाबले मात्रै मत माग्ने र आफ्नो चुनावी एजेन्डा पनि सोही अनुसार अगाडि बढाइरहेका छन्। तर त्यसप्रति सुरक्षा निकाय सचेत छ। सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ,’ मधेस प्रदेशका एक सुरक्षा अधिकारीले भने। 

एक साताअघि पर्साको वीरगन्जमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्ने प्रयास गरेको आरोपमा प्रहरीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई पनि पक्राउ गरेको थियो। धार्मिक गतिविधिसँगै आफ्ना एजेन्डा अगाडि बढाउन पर्सामा विशेष कार्यक्रम गर्न लागेका उनलाई प्रशासनले अनुमति दिएको थिएन। तर प्रशासनको अनुमतिबिनै कार्यक्रम गर्न बाटो लागेपछि उनलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेर फर्काइएको थियो। 

उनलाई पक्राउ गरेर कारबाही गर्न निर्वाचन आयोगले नै प्रहरीलाई निर्देशन दिएको थियो। तर त्यतिबेला पक्राउ परेका प्रसाईंलाई म्याद थप नगरी रिहा गरिएको थियो। सरकारी वकिल कार्यालयको निर्देशनमा रिहा भएका प्रसाईंले निर्वाचन बिथोल्ने गरी अभिव्यक्ति दिने र गतिविधि गर्ने तयारी गरेको भन्दै प्रहरीले पुनः उनलाई सोमबार पक्राउ गरेको थियो। अहिले उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ। 

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमै प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र नेकपाका अध्यष ऋषि कट्टेलसहित चार जनालाई पनि पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 

प्रहरीले देशभर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनसक्ने व्यक्ति र समूहमाथि निगरानी बढाएको छ। 

यस्तै सुरक्षा संवेदनशील भएका जिल्लामा अन्य जिल्ला, प्रदेश र प्रहरी प्रधान कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ। फागुन २१ गते देशभर निर्वाचन हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad