१७ वर्षीया आपसना खातुनलाई आफूले पढाइलाई निरन्तरता नदिएको भए आफ्नो बालविवाह भइसकेको हुन्थ्यो भन्ने लाग्छ। यो कुरा सोच्दा पनि उनलाई डर लाग्छ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी आपसनाले तीन वर्ष मदरसमा पढेपछि पढाइ छाडिन्। ‘घरको कामका कारण छाडेँ। आमाबुबाले पनि विद्यालय जान प्रोत्साहन गर्नुभएन,’ खातुनले भनिन्।
मदरसा छोडेको तीन वर्षपछि उनले किशोरी सिकाइ केन्द्रमा वैकल्पिक शिक्षाको अवसर पाइन्। उनी भन्छिन्, ‘त्यहाँको म्यामले अभिभावकलाई शिक्षाको महत्त्वबारे बुझाउनुभयो।’
नौ महिनाको वैकल्पिक शिक्षापछि उनी राष्ट्रिय माध्यमिक विद्यालय, देउरबानामा कक्षा ६ मा भर्ना भइन्। एकैचोटि कक्षा ६ मा भर्ना हुँदा अरूभन्दा पछि पर्छु भन्ने डर थियो उनमा। तर मेहनत गरिरहिन्। ‘बिहान चाँडै उठेर पढ्थेँ। बेलुका पनि पढ्थेँ। ट्युसन पनि पढ्थेँ। घरको काम पनि गर्थे। थाक्थेँ,’ उनी भन्छिन्, ‘तर म रोकिइनँ।’
मेहनतको परिणाम कक्षा ८ को नतिजामा देखियो। उनी छात्रातर्फ सबभन्दा बढी जीपीए ल्याउने दोस्रो विद्यार्थी बनिन्।
सफलता हासिल गरेको त्यो दिन उनको खुसीको सीमा नै थिएन। त्यो खुसी सम्झँदै खातुन भन्छिन्, ‘मेरो जीवनमा धेरै खुसीको त्यो दिन दिदीले अंगालो हालेर स्याबासी दिनुभयो। बुबाआमाले ममाथि गर्व गर्नुहुन्छ। समुदायका मानिस पनि मैले राम्रो गरेको भन्न थालेका छन्।’
उनका तीन दिदीको विद्यालय नै नगई विवाह भएको थियो। सानी बहिनी कक्षा ६ मा पढ्दैछिन्। उनी बहिनीको पढाइमा सहयोग गर्छिन्। आपसना भन्छिन्, ‘म चाहन्छु उसले कहिल्यै पढाइ छाड्न नपरोस्।’
कक्षा ९ मा अध्ययनरत आपसना आफ्नी बहिनीलाई मात्र होइन, समुदायमा समेत पढाइको महत्त्व बुझाउन थालेकी छन्। भविष्यमा सरकारी अधिकृत बन्ने उनको सपना छ।
अरूलाई पनि सपना देख्न प्रोत्साहित गर्दै उनी भन्छिन्, ‘म मेरो समुदायका दिदीबहिनीलाई, परिस्थिति जस्तोसुकै भए पनि पढ्नुपर्छ, सपना देख्न छाड्नु हुँदैन भन्छु। किनकि शिक्षा जीवन बदल्ने शक्ति हो। शिक्षाको अवसरले हरेक छोरीको जीवनमा परिवर्तन आउँछ।’
अवसर र साथ सहयोग पाए बीचमा पढाइ छाडेका बालिका विद्यालय फर्कन सक्छन् र नतिजा पनि राम्रो ल्याउन सक्छन् भन्ने एक उदाहरण हुन आपसना। उनको कथा आशा र परिवर्तनको कथा हो। शिक्षाको अवसर पाए बालिकाको कम उमेरमै हुने विवाह रोक्न सकिन्छ भन्ने दृष्टान्त पनि हो।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार १६ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ५ प्रतिशतको बालविवाह भएको छ। कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेका अनुसार १५ वर्षको उमेरअघि विवाह गर्नेमा ५ प्रतिशत बालिका र ०.४ प्रतिशत बालक छन्।
यस्तै अर्को एक तथ्यांक अनुसार तीनमध्ये एक किशोरीले मात्र कक्षा १२ सम्मको पढाइ पढाइ पूरा गर्छन्। माध्यमिक तह पूरा गर्ने किशोरीले नगर्नेले भन्दा बढी कमाउने र उच्च शिक्षामा जाने अवसर बढी हुन्छ। शिक्षाले बालिकाले पाउने अवसर, उनको आर्थिक अवस्था र गुणस्तरीय जीवनमा प्रभाव पार्छ।
डडेलधुराकी पार्वती ताम्राकार अहिले काठमाडौँमा पढाइसँगै कमाइ पनि गर्दैछिन्। शंकरदेव क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत उनी एक ब्युटिपार्लरमा काम गर्छिन् र मासिक १५ हजार कमाउँछिन्।
‘यो पैसाले हामीलाई काठमाडौँमा जीविकोपार्जन गर्न सहयोग भएको छ। म, दाजु र भाइ तीनै जना पढ्दैछौँ,’ पार्वती भन्छिन्, ‘घरबाट आमाबुबाले अलिअलि पठाउनुहुन्छ। उहाँहरू किसान हुनुहुन्छ।’
शिक्षासँगै सिप सिकेकाले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। त्यसैले उनले परिवारलाई सहयोग गर्न सकेकी छन्।
कक्षा १० सम्म डडेलधुरामा पढेपछि उनले कक्षा ११ र १२ पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, काठमाडौँबाट सकिन्। पद्मकन्यामा ऐच्छिक विषयअन्तर्गत सौन्दर्यकला रोजिन्। उनी भन्छिन्, ‘स्नातकोत्तर तहको पढाइ पूरा गर्ने र लोकसेवा पास गरी सरकारी जागिर खाने इच्छा छ।’
स्नातक तहमा अध्ययनरत सुर्खेतकी साधना विश्वकर्मालाई शिक्षाले प्रमाणपत्र हासिल गर्न मात्र होइन, फरक तरिकाले सोच्न र प्रश्न गर्न पनि सिकाउनु पर्छ जस्तो लाग्छ। विद्यालय तहदेखि नै शिक्षाले ज्ञानसँगै विभिन्न सिप सिकाउन, सिकाइलाई जीवन र समुदायसँग जोड्न सक्नु पर्छ भन्ने लाग्छ।
उनमा शिक्षाप्रति यस्तो प्रष्टता आउनुमा कक्षा ९ मा पढ्दा उनले पाएको अवसर हो। २०७५ सालमा उनी एक क्लबमा सहभागी हुन पाउँदा प्रविधिको प्रयोग गर्न सिकिन्। उनको भनाइमा त्यसबेला कम्प्युटर शिक्षा ऐच्छिक विषयका रूपमा रोज्नेहरूले मात्र सिक्न पाउँथे। क्लबमार्फत सामाजिक मुद्दामा हुने छलफलले आफ्ना समुदायका वास्तविक समस्या बुझ्न उनलाई सजिलो भयो।
सन् २०२४ मा उनी सांस्कृतिक कार्यक्रम संयोजन गर्दै स्थानीय लोक संगीत र नृत्य जगेर्ना तथा प्रवर्धन कार्यक्रममा सहभागी भइन्। पढाइसँगै समुदायमा सचेतना कार्यक्रम र सामाजिक न्यायका लागि काम गर्न थालिन्।
उनी भन्छिन्, ‘कक्षा ९ मा हुँदा क्लबमार्फत सहजीकरण र नेतृत्व सिप सिकेँ। प्रश्न गर्न सिकेँ। अहिले आफ्नो समुदायको आवाज उठाउन सक्छु। नेतृत्व गर्न सक्छु भन्ने विश्वास भयो। शिक्षा र यस्ता सिपले सिकाइलाई आफ्नो जीवन र समुदायसँग जोड्न सिकायो।’
ज्ञानसँगै सिकाइलाई जीवन र जगत्सँग जोड्न तर्क र प्रश्न गर्न, नेतृत्व र आम्दानी गर्न सिकाउने सिपयुक्त शिक्षाले बालिका तथा किशोरीलाई आत्मविश्वासी बनाउँछ। सपना देख्न र पूरा गर्न सिकाउँछ। बालविवाह र अन्य सामाजिक कुरीतिविरुद्ध बोल्न, आफ्नो जीवनमा के सही र के गलत हो भनेर निर्णय गर्न सिकाउँछ। आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ।
विद्यालय शिक्षामा भर्नाका हिसाबले लैङ्गिक समानता कायम भए पनि बालिकाले बीचमै पढाइ छाड्ने चुनौती छँदैछ।
विशेषगरी घरायसी कामको बोझ, सानै उमेरमा बिहे हुनु, अभिभावकको कमजोर आर्थिक विपन्नता जस्ता मुख्य कारणले बालिकाहरूले बीचमै पढाइ छाड्ने गरेका छन्। पढाइ बीचमै छाड्ने र कहिल्यै विद्यालय नजानेमा विपन्न वर्ग र सीमान्तकृत समुदायका बढी छन्। भौगोलिक विकटता पनि अर्को कारण हो। विद्यालय नै नटेकेका र बीचमै पढाइ छाड्नेको संख्या मधेस र कर्णाली प्रदेशमा बढी छ।
बालिका शिक्षामा सुधारका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी रूपमा समन्वय हुनुपर्ने र आवश्यकताका आधारमा कार्यक्रम निर्माण गरी लगानी गर्न आवश्यक छ।
जस्तो, कक्षा १–५ मा चार सय रुपैयाँका दरले दिइने छात्रवृत्ति सबै छात्रालाई आवश्यक हो कि होइन? सहरी क्षेत्रमा निजी स्कुल छाडेर सार्वजनिक विद्यालय आउन थालेका छात्रालाई यसको महत्त्व नहुन सक्छ। तर, आर्थिक अवस्था कमजोर भएका छात्रालाई बढाएर दिन सकिन्छ।
त्यस्तै, दिवा खाजा, नि:शुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, स्यानिटरी प्याडको व्यवस्था हुँदा पनि किन बालिका विद्यालय छाड्छन् वा बाहिर छन्? कक्षा ८ सम्म अनिवार्य तथा नि:शुल्क र माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको व्यवस्था कसरी कार्यान्वयन भएको छ? उनीहरूले घरमा बोल्ने भाषा र विद्यालयमा प्रयोग हुने भाषाले प्रभाव पारेको छ कि? विद्यालयको वातावरण सुरक्षित छ कि छैन? बालिकामैत्री पूर्वाधारका लागि आवश्यकताका आधारमा समतामूलक ढंगबाट बजेट वितरण भएको छ कि, छैन? यी सवालमा तीनै तहका सरकारले अध्ययन गरी काम गर्नु पर्छ।
आफ्नो क्षेत्रका बालिकाका समस्या के छन्, समाधानका लागि संघीय र प्रदेश सरकारबाट कस्तो सहयोग माग गर्ने भन्नेमा स्थानीय तहले विशेष रूपमा काम गर्नु पर्छ। बालिका शिक्षामा लगानी गर्नु भनेको उनीसँगै परिवार, समाज र राष्ट्र समृद्ध हुनु हो।
Shares

प्रतिक्रिया