समाज


चीनको ग्वान्जाओबाट नेपाल हिंडे स्वास्थ्य सामग्री बोकेका ट्रक

चीनको ग्वान्जाओबाट नेपाल हिंडे स्वास्थ्य सामग्री बोकेका ट्रक

उजिर कार्की
बैशाख २७, २०७७ शनिबार ६:५५,

सेनाले खरिद गरेका थप ९०० क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जओबाट नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३०० क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओबाट नेपालतर्फ बाटो लागेको र अरु ६०० क्युबिक मिटर पनि टुंगो लागिसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

यसअघि वैशाख २२ गते १०० क्युबिक मिटर र २४ गते १३० क्युबिक मिटर सामग्री बोकेका ट्रक ग्वान्जाओबाट नेपाल आउने क्रममा बाटोमा रहेका छन्। अत्यावश्यक स्वास्थ्य सामग्री हवाइमार्ग र बाँकी स्थलमार्गबाट ल्याउने भनिएपनि ग्वान्जाओ विमानस्थलमा स्वास्थ्य सामग्री ढुवानी गर्ने अरु देशको समेत चाप बढी हुँदा ढिलाइ भइरहेको छ।

सेनाले ग्वान्जाओमा भीड बढी हुने भएपछि चाङ्सा विमानस्थलमा सामग्री जम्मा गरिदिन आग्रह गरेको थियो। तर सिनोमार्फाले ग्वान्जाओमा सामग्री संकलन गरिसकेकाले त्यहीँबाट ल्याउने प्रक्रिया अगाडि बढेको हो।

ग्वान्जाओमा सामान ढुवानीकर्ता कम्पनीले वायरहाउस स्थापना गरिसकेको छ। ढुवानीकर्ता र सिनोफार्मा कम्पनीको समन्वयमा भन्सार प्रक्रिया सुरु गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको छ। ग्वान्जाओस्थित वायरहाउसमा स्वास्थ्य सामग्री संकलनको काम भइरहेको प्रवक्ता पाण्डेले बताए।

भन्सार प्रमाणिकरणका लागि २५ गतेबाटै लेवलिङको काम सुरु भइसकेको छ। लेवलिङको काम सकिएपछि प्रमाणिकरण सुरु हुनेछ। भन्सार प्रक्रिया पूरा गर्न ५ दिनसम्म लाग्न सक्ने चीनले सेनालाई जानकारी गराएको छ। पहिलेभन्दा अप्रिल १० बाट चीनले भन्सारमा थप कडाइ गरेको छ। भन्सार प्रक्रिया चाँडो पूरा गरिदिन प्रधानसेनापति, बेइजिङस्थित सैनिक सहचारी र परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गरेका छन्।

शनिबार र आइतबार सरकारी बिदा भएकाले भन्सार प्रमाणिकरणको काम रोकिएको छ। २९ गते सोमबारबाट भन्सारको काम पुनः सुचारु हुने सेनाले जनाएको छ। भन्सार प्रक्रिया सम्पन्न हुनासाथ नेपाल एयरलाइन्सबाट करिब ३७ टन स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ। सामग्री ढुवानीका लागि सेनाले दुई वटा उडान चार्टर गरिसकेको छ। तर भन्सार प्रक्रियामा ढिलाई हुँदा सामग्री ढुवानीका लागि जहाज कहिले पठाउने भन्ने टुंगो छैन।

सरकारले गत चैत १६ गते नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो। सेनाले जीटूजी प्रक्रियामार्फत ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। जसका लागि २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad