ad ad

समाज


राजधानी छिर्ने नाकामा थप कडाइ, यात्रुसहित फर्काइए २५१ सवारी

राजधानी छिर्ने नाकामा थप कडाइ, यात्रुसहित फर्काइए २५१ सवारी

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १३:२०,

सरकारले आन्तरिक लकडाउनलाई केही खुकुलो बनाए पनि अन्तरजिल्ला सीमानाकामा भने थप कडाइ गरेको छ।

वैशाख २४ गतेदेखि यता तीन दिनमा मात्रै २ सय ५१ वटा सवारी राजधानीका नाकाबाट फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

उनीहरुलाई ‘जहाँबाट आएको हो उही जानू’ भनेर फिर्ता पठाइएको प्रहरीले जनाएको छ। यी सवारीले ३ सय ५४ जना यात्रु लिएर राजधानीका लागि ल्याएका थिए। तर अत्यावश्यक बाहेकका सवारी र यात्रु भएकाले उनीहरुलाई रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने मालवाहक सवारी साधानमा यात्रु राख्न नपाइने र प्रवेश विन्दुमा त्यस्ता सवारी साधानका सवारी चालक र सहयोगीको नाम, ठेगाना जन्ममितिसहितका विवरणसमेत राख्न थालेको छ।

यस्तै काठमाडौं प्रवेश गरेको र र फर्केको मितिसहितको विवरण राख्ने र सवारी साधन फर्केर जाँदा सोही विवरण बमोजिमको व्यक्ति भए नभएको समेत जाँच गर्न थालेको छ।

यसरी चेकजाँच गर्दा झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिने र चालकलाई कारबाही गर्ने सरकारको निर्णय छ।

सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि राजधानीका प्रमुख नाकामा भने प्रवेशमा कडाइ गरेको छ।

नाका अनुगमन
यसैबीच गृहका अधिकारी र उपत्यका प्रहरी प्रमुखले नाका अनुगमन गरेका छन्। शुक्रबार गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी, महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलसहितको टोलीले बीपी र अरनिको राजमार्ग अनुगमन गरेका हुन्।

त्यसक्रममा नाकामा खटिएका प्रहरीलाई थप कडाइ गर्न र अत्यावश्यक बाहेकका सवारी प्रवेश गर्न नदिन निर्देशन दिएका छन्। गृह मन्त्रालयले अन्तर जिल्लामा समेत सवारी आवतजावतलाई कडाइ गर्न परिपत्र गरेको थियो।

शुक्रबारदेखि जेठ ५ गतेसम्म लकडाउन थप गरे पनि सञ्चालन हुने कार्यालय तथा क्षेत्र बढाएको छ।

सरकारको नयाँ व्यवस्थासँगै राजधानीमा मानिस तथा सवारीको चाप बढेको छ। शुक्रबारदेखि कृषि तथा पशुपालन क्षेत्रलाई खुल्ला गरिएको छ। यस्तै पुस्तक पसल र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबै कार्यालय सञ्चालन हुन र पाएका छन्। ढुवानीका साधानहरु पनि सञ्चालन गर्न अनुमति दिइएको छ।

विकास आयोजनाहरु पनि सञ्चालनमा आएका छन्। उनीहरु आउने जाने व्यवस्था पनि सहज बनाइएको छ। बैंक तथा वित्तिय संस्थाहरु पनि अत्यावश्यक कर्मचारी मात्रै कार्यालयमा बोलाएर सञ्चालनमा आएका छन्।

उनीहरुका लागि छुट्टै सवारी पास नचाहिने सरकारले निर्णय गरेको छ। सरकारले अनुमति नदिएका र अत्यावश्यक काम नभएकाहरुलाई मात्रै रोकिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘सरकारले कुन कुन क्षेत्र खुल्ला गर्ने र उनीहरु कसरी सञ्चालन हुने भन्ने प्रस्ट भनेको छ। उनीहरुलाई सडकमा कुनै अवरोध हुँदैन तर त्यसबाहेकका सवारी सञ्चालन हुन पाउँदैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .