ad ad

समाज


कोरोना संक्रमण : नेपालमा अब छिटो फैलिन सक्ने विज्ञहरुको चेतावनी

कोरोना संक्रमण : नेपालमा अब छिटो फैलिन सक्ने विज्ञहरुको चेतावनी

यज्ञराज जोशी
बैशाख २६, २०७७ शुक्रबार १३:६,

जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेपछि अब संक्रमितहरुको संख्यामा चाँडो वृद्धि हुनसक्ने चेतावनी दिएका छन्।

शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएपछि नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन्। निको भएका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल फेरि भर्ना गरिएको छ।

जनस्वास्थ्यविद् डा. सिद्दी अर्यालले अरु देशमा १०० संक्रमितको आँकडा पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले डरलाग्दो परिस्थिति आउनसक्ने आकँलन गरे।

‘अरु देशको उदाहरण हेर्दा १०० पुगिसकेपछि त्यसबाट १५ सय पुग्न ४–५ दिनदेखि एकहप्ताको समय लागेको छ,’ अर्यालले नेपालखबरसँग भने, ‘नेपालमा टेस्ट किटको अभाव र जाँचको परीणाम पनि घट्दै गएकाले झन डरलाग्दो अवस्था आउनसक्ने देखिएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा १४ हजार ५ सयवटा नमूनाको मात्रै पीसीआर बिधिबाट परीक्षण भएको छ। परीक्षण किट अभावमा विभिन्न ठाउँमा परीक्षण रोकिएको छ।

डा. अर्यालले विदेशबाट आएका मानिसहरुमा मात्रै देखिनुलाई त्यति डरलाग्दो अवस्था मानेनन्। उनले वीरगञ्ज, रुपेन्देही र नेपालगञ्जमा ठूलो संख्यामा मानिसहरुमा स्थानीय संक्रमण देखिएपछि समुदायस्तरमै फैलिएको हो कि भन्ने आशंका बढाएको बताए।

‘बाहिरबाट आएकै मान्छेलाई बढी देखिएको भए त्यसमा त्यति डर मान्नुपर्ने अवस्था हुँदैनथ्यो,’ अर्यालले भने, ‘तर अहिले कम्युनिटी ट्रान्सफर (समुदायमा संक्रमण) भैसकेको हो कि भन्ने शंका बढेको छ। समुदायमा प्रवेश भयो भने डरलाग्दो स्थिति हुनसक्छ।’

स्वास्थ्य मन्त्रालयले भने उदयपुरमा २८, पर्सामा २४ र बाँकेमा २३ जनामा संक्रमण देखिएपनि समुदायमा कोरोना संक्रमण फैलिइसकेको स्थिति नभएको जिकिर गर्दै आएको छ।

नेपालमा कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी पाएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले कन्ट्याक्ट ट्रेसिङका क्रममा अघिल्लो संक्रमितबाट नै अन्यलाई सरेको पाइएकाले यसलाई समुदायमा संक्रमणको चरण भन्न नसकिने बताए।

‘समुदायमा सरेको भए कोबाट सर्याे भन्ने पहिचान हुँदैन। संक्रमण कोबाट कसरी सर्याे भनेर स्रोतको टुंगो नभए समुदायमा फैलियो भन्ने हो,’ डा. पाण्डेले भने, ‘अहिले देखिएका संक्रमित पहिले भेटिएका संक्रमितसँग सम्पर्क आएका मानिस नै हुन्। हामीले कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा संक्रमण फेला परेको हो।’

तर जनस्वास्थ्यविद् शरद वन्तले संक्रमणको स्रोतको पहिचान ठीक ढंगले हुन नसक्दा हामी कुन चरणमा छौं भन्ने निष्कर्षमा पुग्न नसकिने बताए।

‘नेपालगञ्ज, उदयपुर र वीरगञ्जमा देखिएको स्रोतको सही पहिचान भइसकेको छैन,’ उनले भने, ‘अहिले एक जनाबाट सरेको भन्ने अनुमान गरिएको छ। तर त्यो एकजनाले १७ जनालाई सारेको हो कि हैन्? संक्रमणको अरु स्रोत समुदायमा कही लुकेर बसेको छ कि? सुक्ष्म रुपमा अनुसन्धान नगरुञ्जेल ठ्याक्कै संक्रमणको कुन चरणमा छौं भन्न सकिन्न।’

वन्तले पनि संक्रमणको संख्या बढ्नुको अर्थ जोखिम समेत उत्तिकै बढ्नु रहेको बताए।

‘संख्या बढ्दा अवश्य पनि जोखिम बढ्छ। जोखिमलाई न्युन गराउन अधिकतम ट्रेस गरेर परीक्षण गराउनुपर्छ,’ वन्तले भने, ‘कन्ट्याक्ट ट्रेसिङ यथेष्ट मात्रामा गर्न नसकिएको आधिकारिक रुपमै स्वीकारिएको छ। यदि हामीले ट्रेस गर्न सकेनौं र संक्रमितको पनि कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन भने जोखिम बढी हुन्छ।’

अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सुरुमा संक्रमण फैलन केही समय लाग्ने र जति बढ्यो त्यसपछि तीव्ररुपमा वृद्धि (मल्टिप्लाई) हुँदै जाने भएकाले एकदमै छिटो संक्रमण बढ्नसक्ने औल्याए।

उनले मुख्यगरी भारतसँग सीमा जोडिएका क्षेत्रमा बढी सर्तकता आवश्यक रहेको बताए।

‘भारतमा हेर्दा सुरुमा १–२–४–६ हुँदै जब १०० नाघ्यो त्यसपछि हजार पुग्न समयनै लागेन। अहिले ५६ हजार पुगेको छ,’ डा. पाण्डेले भने, ‘अहिले नेपालसँग सीमा जोडिएका भारतका क्षेत्रहरुमा संक्रमण कम भएकाले नेपालमा पनि कम देखिएको हो। त्यहाँ संक्रमण बढे नेपालमा पनि जोखिम बढ्छ।’

नेपालसँग सीमा जोडिएका भारतको उत्तरप्रदेशमा २८ सय, उत्तराखण्डमा ६० र विहारमा ५२९ कोरोना संक्रमित भेटिएका छन्। ती स्थानमा ठूलो संख्यामा मजदुर फर्किरहेकाले यदि तीमध्ये कोही संक्रमित भए र समाजमा घुलमिल भए त्यसले नेपालमा पनि जोखिम बढाउने उनले बताए।

सरकारले शुक्रबारदेखि लकडाउन खुकुलो बनाएसँगै यसलाई व्यवस्थित गर्न नसके झनै संक्रमण फैलनसक्ने जोखिम पाण्डेले औल्याए।

‘उद्योग कलकारखानामा मजदुरलाई त्यहीँ नै बसोबासको व्यवस्था मिलाउनुपर्छ। बाहिर निस्केर परिवारसँग घुलमिल हुन दिए त्यसले जोखिम झनै बढ्छ,’ उनले भने, ‘मास्क अनिवार्य लगाउने, दूरी कायम गराउने, भित्री बस्तीहरुको चहलपहल रोक्ने र बढीभन्दा बढी परीक्षण गराउनाले जोखिम कम गर्न मद्दत गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .