समाज


बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

नेपालखबर
माघ २१, २०८२ बुधबार १९:४०, ढोरपाटन (बागलुङ)

बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठूलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा भरुवा बन्दुक बरामद भएको छ।

ढोरपाटन सिकार आरक्ष आसपास, विभिन्न सामुदायिक वनमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामासमेत भरुवा बन्दुकको दुरूपयोग हुने जोखिम बढेकाले इजाजतपत्र नलिइकन लुकाइछिपाइ राखिएका भरुवा बन्दुक सङ्कलन गरी बरामद गरिएको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताए। 

‘हामीले केही समय अगाडिदेखि अवैध हातहतियार सङ्कलन र बरामद गर्ने अभियान चलाएका थियौँ, हाम्रो सबै प्रहरी युनिटबाट खटिएका प्रहरीले यी हातहतियार नियन्त्रणमा लिएका हुन्’, प्रहरी उपरीक्षक भारतीले भने, ‘चुनावलाई लक्षित गरेर लाइसेन्सवाला हतियार पनि प्रहरीमा बुझाउन आग्रह गरेका छौँ।’

उनका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ। इजाजतपत्र नलिइकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad