त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति सुरक्षित मानिने क्षेत्रबाट ‘डस्टबिन’ को फोहर प्रयोग गरेर सुन तस्करी हुने गरेको तथ्य खुलेको छ। विमानस्थलको सुरक्षा संयन्त्र र भन्सारलाई छलेर फोहरको पोकोभित्र लुकाइएको सुन बाहिर निकाल्न लागेको अवस्थामा प्रहरीले एक सरसफाइ कर्मचारीलाई पक्राउ गरेको हो।
सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थलमा सरसफाइको काम गर्दै आएका ४० वर्षीय डिकबहादुर राउतलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो। उनी फोहर संकलन गर्ने बहानामा डस्टबिनभित्र लुकाइएको सुन बाहिर पुर्याउने ‘भरिया’ को भूमिकामा रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
स्क्यानिङमा खुलेको रहस्य विमानस्थल प्रहरीअनुसार राउतले डस्टबिनबाट संकलन गरेको फोहरको पोको लिएर बाहिरिँदै गर्दा शंका लागेर जाँच गरिएको थियो।
बाहिर निस्कने द्वारमा फोहरको पोकोलाई एक्स-रे मेसिनमा स्क्रिनिङ गर्दा धातुको वस्तु देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा फोहरभित्र लुकाइएको ४१४ ग्राम सुन फेला परेको हो।
नियमित सरसफाइ गर्ने बहानामा डस्टबिनमा सुन छाड्ने र त्यहाँबाट फोहरसँगै बाहिर लैजाने नयाँ शैली अपनाइएको प्रहरीले शंका गरेको छ।
अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रु वा विमानभित्रबाटै कसैले सुन डस्टबिनमा छाड्ने र त्यसलाई सफाइ कर्मचारीले बाहिर निकाल्ने यो घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलतामाथि पुनः प्रश्न उठाएको छ। पक्राउ परेका राउतलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।
Shares

प्रतिक्रिया