सेयरबजारका लगानीकर्ताले सेयर किनबेच गरेबापत १९ दिनमै ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड (सेबोन) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई कुल ६१ करोड ८० लाख रुपैयाँ कमिसन तिरेका छन्।
उनीहरुले यसमध्ये ४२ करोड २ लाख बराबरको कमिसन ब्रोकरलाई मात्रै तिरेका छन्। अहिले लगानीकर्ताले ५० हजारसम्मको कारोबार गर्दा ०.३६ प्रतिशत, ५० हजार ५ लाख सम्मको ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबार गरेमा ०.३१ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबार गरेमा ०.२७ प्रतिशतश र १ करोड माथिको कारोबार गर्दा ०.२४ प्रतिशत कसिमन ब्रोकरलाई तिर्ने गर्छन्।
लगानीकर्तासँग ब्रोकरबाहेक नेप्सेले ०.३६ प्रतिशत, नेपाल धितोपत्र बोर्डले ०.०१५ प्रतिशत र सेयर ट्रान्सफर गरेबापत राफसाफ गर्ने कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ०.५ प्रतिशतसम्म कमिसनले लिने गर्दछन्। पुस महिनामा लगानीकर्ताले सबैलाई कुल ६१ करोड ८० लाख रुपैयाँ कमिसन बुझाएका हुन्।
लगानीकर्ताबाट नेप्सेले मात्रै १२ करोड ३६ लाख रुपैयाँ कमिसन पाएको छ। यसबाहेकका कमिसन करिब ७ करोड ४१ लाख बराबरको कमिसन लगानीकर्ताबाट पाएका हुन्। यो सेयर किनबेचमा लगानीकर्ताले तिरेको कमिसनबाहेक पनि सरकारले लगानीकर्ताको नाफाबाट कर असुल्ने गर्छ। लगानीकर्ताले सेयर कारोबारबाट कमाएको नाफाको ५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्मको पुँजीगत लाभकर तिर्नुपर्छ। यो यदि लगानीकर्ताले कारोबारबाट नाफा कमाएका छन् भने मात्रै तिर्नुपर्छ। अन्यथा तिर्नुपर्दैन।
यदि एक वर्षभित्र सेयर किनेर बेच्दा नाफा कमाएको छ भने सो नाफाको ५ प्रतिशत र एक वर्षभन्दा बढी अर्थात् खरिद गरेको धेरै समयपछि बिक्री गर्दा भने कमाएको नाफाको ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। सरकारले पाउने कर र सेयर दलाल, नेप्से, बोर्ड र सीडीएससीले पाउने कमिसन भने फरक–फरक हुने गर्छ।
यी हुन् सर्वाधिक कारोबार गरी धेरै कसिमन संकलन गर्ने ब्रोकर
सबैभन्दा धेरै कारोबार हुने ब्रोकर कम्पनीबाट सबैभन्दा धेरै कमिसन उठ्छ।
पुसमा १९ दिन कारोबार भएको थियो। यो अवधिमा नेप्सेको तथ्यांकअनुसार ८ वटा ब्रोकरले एक करोडमाथिको कमिसन संकलन गरेका छन्।
यसअनुसार नासा सेक्युरिटिजले २ करोड ४५ लाखको कमिसन उठाउँदा सानी सेक्युरिटिज १ करोड ५४ लाख संकलन गरेको छ। यीबाहेक इम्पेरियल सेक्यरिटिजले १ करोड ४१ लाख, त्रिशक्ति सेक्युरिटिज पब्लिक १ करोड ३९ लाख, भिजन सेक्युरिटिजले १ करोड ३७ लाख, अनलाइन सेक्युरिटिजले १ करोड ३७ लाख, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजले १ करोड ४ लाख र डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिजले १ करोड कमिसन वापत लगानीकर्ताबाट शुल्क संकलन गरेको तथ्यांकमा देखिन्छ।
योबाहेकका ८२ वटा ब्रोकरले करोडभन्दा थोरै कमिसन संकलन गर्दै आएका हुन्। पुसको तुलनामा माघमा भने यस्तो कमिसन बढ्ने देखिएको छ। यो महिनामा अधिकतम १६ अर्बसम्मको दैनिक कारोबार भएकाले कमिसन रकम तुलनात्मक रुपमा बढ्ने देखिन्छ।
Shares

प्रतिक्रिया