कैलाली, डोल्पा, कञ्चनपुर र दाङमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
कैलालीको टिकापुर नगरपालिका-७ प्रतिपुरमा ट्याक्रट दुर्घटनामा हुँदा २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिकापुरबाट भजनीतर्फ जाँदै गरेको भे.१ त ४५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँका २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अर्का १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज रेफर गरिएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्।
त्यसैगरि डोल्पाको ठूलीभेरी नगरपालिका-४ तिप्लामा पनि ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
तिप्लाबाट दुनैतर्फ आउँदै गरेको लु.५ त ७३१ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्ली बस्ने २१ वर्षीय विशाल परियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।
त्यसैगरि कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकामा मोटरसाइकलको ठक्करबाट ८६ वर्षीय वृद्धको मृत्यु भएको छ।
सु.प.प्र ०१-०११ प ५०२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ८६ वर्षीय रन बहादुर चौधरीको मृत्यु भएको हो।
सोमबार बेलुका भएको उक्त दुर्घटनामा गम्भीर घाइतेभएका उनको माया मेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा र मोटरसाइकलमा सवार १ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि दाङको तुलसीपुर उपमहानगरपालिका-११ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
उरहरीबाट सुकौरातर्फ जाँदै गरेको लु.प्र-०२-००१ प ०४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१२ कचिला बस्ने ३० वर्षीय भरत योगीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालन्ज बाँकेमा उपचार भइरहेको छ। यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया