बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो।
आज बिहान परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा उकालोमा गाडी पास हुन नसक्दा सवारीको जाम लागेको छ।
‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रक फसेर समस्या भएको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ।’
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। बुटवल–नारायणगढ सडक विस्तार अन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ। रासस
Shares

प्रतिक्रिया