समाज


२५ दिनपछि खोलियो त्रिविमा लगाएको ताला

२५ दिनपछि खोलियो त्रिविमा लगाएको ताला

नेपालखबर
माघ १२, २०८२ सोमबार १५:१४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी २५ दिनपछि खोलिएको छ। 

अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला त्रिविले आज प्रहरी प्रशासनको सहयोगमा खोलेको हो। विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला खोलेको बताए। 

‘ताला खोल्न आज बिहान ८ बजेसम्म अल्टिमेटम दिएका थियौँ। उहाँहरूले ताला नखोलेपछि हामी आफैले आफनो कार्यकक्षको ताला खोलेका छौँ,’ उपकुलपति अर्यालले भने। 

क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चार वटा केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग राखेर तालाबन्दी गरेको थियो। 

उनले विद्यार्थीको माग सम्बोधन हुने बताए। ‘विद्यार्थीको माग सम्बोधन गर्न तीन सदस्यीय शुल्क समायोजन समिति बनेको छ। समितिले तीन महिनाको समय पाएको छ। समितिको सिफारिस बमोजिम शुल्क समायोजन हुन्छ,’ उपकुलपति अर्यालले भने, ‘आज नै शुल्क घटाउन सकिँदैन, केही समय लाग्छ। विद्यार्थी संगठनले बुझनुपर्छ।’

उपकुलपति अर्यालले अन्य संकायको पनि शुल्क समायोजन गर्न लागिएको बताए। सम्बन्धन प्राप्त कलेजले लिने शुल्क फरक फरक पाएको उल्लेख गर्दै समितिले सबै कलेजको शुल्क अनुगमन गर्ने उनको भनाइ छ।

तालाबन्दीका कारण प्रशासनिक काम प्रभावित भएको भन्दै सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न अल्टिमेटम दिएको थियो। उपकुलपति अर्यालले विद्यार्थी संगठन ताला नखोलेपछि प्रशासनको सहयोगमा ताला खोलिएको बताए। अखिल क्रान्तिकारीले गत पुस १९ गते ताला लगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad