१३ अर्ब ७८ करोडको कारोबार भएको भोलिपल्ट सोमबार पुनः सेयरबजारमा उच्च कारोबार भएको छ।
साउन १४ मा १६ अर्ब ४४ करोडको कारोबार भएयता पहिलोपटक ६ महिनामा बजारमा सोही हाराहारीमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सोमबार लगानीकर्ताले १६ अर्ब ३५ करोडको सेयर किनबेच गरेका हुन्। ३ करोड ६२ लाख कित्ता खरिदबिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।
यस दिन सेयरबजारले करेक्सन लिएको छ। नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुग्दा कारोबार रकम भने उच्च दरले बढेको हो।
करेक्सन भएको बजारमा ८८ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। सोमबार ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १८८.१०, १०४.५०, ८८.८०, ८२.९० र २६.९० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि प्रतिकित्ता १६८.९० रुपैयाँ आर्जन गरेका छन्। यसबाहेक ट्रेड टावर, त्रिशूली जलविद्युत्, बन्दीपुर हाइड्रोलगायतको सेयर पनि बढेको छ।
आज कम्पनीहरुको सेयरमा अधिकतम ३.१२ प्रतिशतको सामान्य गिरावट देखिएको छ। यस दिन नेशनल हाइड्रोपावरका लगानीकर्ता ‘टप लुजर’ भए। उनीहरुले प्रतिकित्ता ६.९० रुपैयाँ मात्र गुमाएका छन्।
शीर्ष कारोबारमा भने हिमालयन पावर पार्टनर्स अगाडि रह्यो। कम्पनीको ६५ करोडको किनबेच भएको हो। यसबाहेक आखुखोला जलविद्युत् कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्स ५२ करोड, एसवाई प्यानल ५० करोड र बन्दीपुर केबलकारको ४० करोडको किनबेच भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा करेक्सन आउँदा घटे पनि बाँकी सूचक हरियो रहे।
चुनावी सुनिश्चिततासँगै पछिल्लो समय सेयरबजारमा राम्रो सुधार देखिन थालेको छ।
Shares

प्रतिक्रिया