सर्लाहीबाट कुखुरा लिएर काठमाडौँ आउँदै गरेको गाडी गएराति मकवानपुरमा दुर्घटना हुँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
गएराति करिब १ बजेतिर इन्द्रसरोबर गाउँपालिका- २ सिमखोलामा म.प्र.०३-००१ च ६७२१ नम्बरको बोलेरो पिकअप गाडी दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कुलेखानी काठमाडाैँ सडक खण्डको सिमखोला पुगेपछि गाडी सडकबाट करिब सात मिटर तल खोल्सामा खस्दा त्यसमा सवारी १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो।
सर्लाहीबाट कुखुरा लिएर काठमाडौँ तर्फ आउँदै गरेको गाडीमा चालकसहित ३ जना सवार थिए।
दुर्घटनामा ज्यान गुमाउने किशोर सर्लाहीकै बरथवा नगरपालिका-१ का निवासी हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बरहथवाकै १६ वर्षका अर्का एक किशोर (नाम खुल्न बाँकी) र गाडी चालक २५ वर्षका रामवली साह घाइते भएका छन्। उनीहरूको काठमाडौँ मेडिकल कलेज सिनामंगलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया