कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको हुने क्रम बढ्दै गएको छ।
अहिलेसम्म विश्वभर संक्रमितमध्ये १२ लाख ९९ हजार २ सय ४४ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।
बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म ३८ लाख १८ हजारभन्दा धेरै संक्रमित भएका छन्।
संक्रमितमध्ये अहिले २२ लाख ५५ हजार ७ सय ७८ जना उपचारको क्रममा छन्। उपचारमा रहेका अधिकांशको अवस्था सामान्य छ। संक्रमितमध्ये ४८ हजार २ सय १ जनाको अवस्थामात्र गम्भीर छ।
बुधबार विश्वभर ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट २ लाख ६४ हजार २ सय ५२ जनाको मृत्यु भएको छ। गएको २४ घन्टामा विश्वमा ६२ सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
अमेरिकामा गएको २४ घण्टामा १९ सय ७४ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या ७४ हजार नाघेको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख ५८ हजार ८ सय २ पुगेको छ।
त्यसैगरी बेलायतमा बुधबार कोरोना संक्रमणबाट ६ सय ४९ जनाको ज्यान गएपछि त्यहाँ मृतकको संख्या ३० हजार नाघेको छ।
त्यस्तै ब्राजिलमा बुधबार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा ३२३, इटालीमा ३६९, स्पेनमा २४४, फ्रान्समा २७८, क्यानाडामा १८०, मेक्सिकोमा २३६ जनाले ज्यान गुमाएका छन्।
हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ।
बुधबार एकै दिन भारतमा ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया