धनकुटाको भेडेटारबाट धरानतर्फ ओर्लिँदै गरेको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार मृत्यु हुनेमा महोत्तरी गैदाभेटपुर–८ का धैरिया कुमार यादव, झापा मेचीनगरका नयन थापा मगर र धरान–१३ की सुबेक्षा सुब्बा रहेका छन्।
त्यस्तै, बराहक्षेत्र–३ घर भई हाल धरान बस्दै आएका ओमेश राई र जनकपुरका १८ महिने बालक रिषम कुमार मण्डलको पनि घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
जनकपुरबाट सुनसरी यातायात कार्यालयमा नामसारी प्रयोजनका लागि ल्याइएको उक्त बस कार्यालयको काम सकेर भेडेटार घुम्न गएको खुलेको छ। 'भेडेटारबाट फर्कने क्रममा बीच बाटोमै डिजल सकिएपछि बस नियन्त्रण बाहिर गएर सडक छेउको न्यु सबा मेडिकल हलमा ठोक्किएको देखिन्छ,' डिएसपी खड्काले भने।
दिउँसो करिब साढे ४ बजे भएको उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया