समाज


तराईबाट काठमाडौं फर्किनेको ताँती लाग्न थालेपछि भक्तपुर नाकामा प्रवेश निषेध

तराईबाट काठमाडौं फर्किनेको ताँती लाग्न थालेपछि भक्तपुर नाकामा प्रवेश निषेध

रमेश गिरी
बैशाख २४, २०७७ बुधबार १४:१८,

विभिन्न जिल्लाबाट काभ्रे हुँदै धमाधम मानिस काठमाडौं उपत्यका भित्रन थालेपछि भक्तपुर नाकामा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ।

कोरोना महामारीको त्रासले यसअघि काठमाडौं उपत्यका छाडेर आफ्ना जिल्ला गएकाहरू फेरि धमाधम यतै फर्किन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका सवारीसाधन प्रवेशमा रोक लगाइएको हो।

पूर्वी क्षेत्र र तराईका जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली–बर्दिबास भएर काठमाडौं फर्किनेको ताँती लाग्न थालेपछि भक्तपुरको विभिन्न नाकामा सवारीसाधन प्रवेश निषेध गरिएको हो।

सवारी पास भएका गाडीलाई समेत जगाती नाका र ताथली नाकाबाट फर्काउने गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

अस्पतालका गाडी, कर्मचारी, तरकारी, दूध, खाद्यान्न, सरकारले तोकेका सरकारी कर्मचारीबाहेक अन्य सबै सवारीसाधनलाई छिर्न नदिइएको हो।

निजी तथा साना गाडीमा यात्रु बोकेर आउने, बिरामी भनेर ६ देखि १० जनासम्म आउने गरेपछि मंगलबारदेखि त्यस्ता गाडीलाई भक्तपुर र काभ्रेको नाका साँगाबाटै फर्काउने गरिएको र कसैगरी त्यहाँबाट फुत्केर आए पनि जगाती चेक पोस्टबाट फर्काउने गरिएको उनले बताए।

कतिपय सवारीसाधन काभ्रेको बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह भएर उपत्यका भित्रिने भएकाले त्यस्ता सवारीसाधनलाई ताथलीबाट आउने नाकाको चेक पोस्टबाट फर्काउने गरिएको उनले जानकारी दिए।

यो नाका भएर यसअघि दैनिक १०० देखि २०० वटासम्म गाडीमा उपत्यका छाडेर जानेहरू भित्रिएपछि यो नाकामा कडाइ गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले खाद्यान्न, पानी र एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनबाहेक अरु साधनलाई नाकाबाट फर्काउने गरेको बताए।

उनले भने, ‘विभिन्न जिल्लाबाट ई-पास बनाएर उपत्यकामा यात्रु बोकेर आउने सवारीसाधनको संख्या बढ्यो, विभिन्न बाहना बनाउँदै त्यस्ता सवारीसाधन आउन थालेपछि त्यसलाई रोकेर नाकाबाटै फर्काउन थालेका छौं, पास भएकालाई पनि प्रवेश दिँदैनौं।’

अब कुनै पनि निजी तथा सार्वजनिक यातायातका साधनलाई भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्न नदिने भएकाले यो नाका भएर नआउन प्रहरीले सार्वजनिक रूपमै अपिल गरेको छ। ठूला विकास निर्माण आयोजनाको काम अगाडि बढाउने भएकाले त्यस्ता आयोजनाका लागि निर्माण सामग्री बोकेका पास भएका ढुवानीका साधनलाई भने रात्रीको समयमा प्रवेश दिइने भएको छ।

जगाती नाका भएर उपत्यका पस्नेको जगाती नाकामा तापक्रम  मापन र व्यक्तिगत विवरण संकलन कार्य पनि एकसाता अघिदेखि जारी छ। काभ्रेको नाका हुँदै ग्रामीण क्षेत्रका कच्ची बाटो हुँदै लुकेर उपत्यका छिर्नेलाई समेत विभिन्न प्रहरी पोस्टबाट रोक्न प्रहरी परिचालन गरिने भएको छ।

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीसाधनबाहेक अरू सवारीसाधनलाई जुनसुकै नाकाबाट प्रवेश गरे पनि रोक्न सबै नगरपालिकामा रहेका प्रहरी प्रभागलाई समेत सर्कुलेससन जारी गरिएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad