समाज


सातै प्रदेशमा सरकारको निर्वाचन सुरक्षा गोष्ठी

सरकार तोकिएको मितिमै निर्वाचन गर्न दृढ छ: गृहमन्त्री
सातै प्रदेशमा सरकारको निर्वाचन सुरक्षा गोष्ठी

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८२ बिहिबार ७:१०, काठमाडौँ

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रीत गरेर सरकारले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका सरकारले जनाएको छ।
 
लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो। 

सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ। यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको हो। 
 

मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न  गर्ने बताए। 

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ।
 
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ। 

यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ।
 
सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ। यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन्।
 
नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad