समाज


यी ६ भ्याक्सिन जसले विश्वलाई बचाउन सक्छन् कोरोनाबाट

यी ६ भ्याक्सिन जसले विश्वलाई बचाउन सक्छन् कोरोनाबाट

मारिया एलिना नवास
बैशाख २४, २०७७ बुधबार ५:४१,

कोरोना भाइरस (कोभिड—१९) रोक्नका लागि यतिबेला विश्वभरिका वैज्ञानिक भ्याक्सिन बनाउन कडा मिहिनेत गरिरहेछन्। विशेषज्ञहरु भन्छन्, ‘जुन गतिमा उनीहरुले अनुसन्धान गरिरहेका छन्, त्यो असाधारण छ।’

विकास प्रक्रियाबाट हेर्दा भ्याक्सिन वर्षौंको अनुसन्धानपछि मात्र तयार हुन्छ। किन भने विकास क्रममा यसले थुप्रै चरणहरु पूरा गर्नुपर्छ। पहिलो चरण ल्याब्रोटोरीमा हुन्छ। त्यसपछि जनावरमा परीक्षण हुन्छ। यी सबैमा भ्याक्सिनको प्रयोग सुरक्षित र प्रतिरोधक क्षमता देखिए बल्ल यसको परीक्षण मानिससम्म आइपुग्छ।

कसरी हुन्छ भ्याक्सिन परीक्षण?
यो वास्तविक हो कि भ्याक्सिन विकास गर्न वर्षौं लाग्छ। कहिले कहीँ त दशकौं पनि समय लाग्न सक्छ। अहिले उपलब्ध हुने इबोला भ्याक्सिन विकासका लागि १६ वर्ष लागेको थियो। तर कोरोना रोक्ने भ्याक्सिन विकासका लागि अमेरिका, चीन र ब्रिटेनसहितका देशमा छुट्टा छुट्टै वैज्ञानिक टोलीले अनुसन्धान गरिरहेछन्।

मानिसमा परीक्षणको प्रक्रिया तीन चरणमा हुन्छ। पहिलो चरणमा थोरै संख्याबीच गराइन्छ। उनीहरु स्वस्थ भए दोस्रो चरणमा व्यवस्थित रुपमा धेरै जना परीक्षणमा सहभागी हुन्छन्। यो तहमा आइपुगेपछि ‘कन्ट्रोल ग्रुप’ बनाएर पनि परीक्षण गरिन्छ। ‘कन्ट्रोल ग्रुप’ बनाउनुको मतलब परीक्षणमा सहभागी हुनेलाई बाँकी मानिसबाट अलग राख्नलाई हो। यो चरणमा भ्याक्सिन सुरक्षित भए नभएको यकिन हुन्छ। तेस्रो चरणमा भ्याक्सिनको कति ‘डोज’ असरदार हुन्छ भनेर परीक्षण हुन्छ।

अहिलेसम्मको राम्रो पक्ष यो छ कि तीन महिनाभित्र कोभिड—१९ को भ्याक्सिनका लागि ९० वटा रिसर्च टोलीले काम गरेका छन्। ती मध्ये ६ टोली भ्याक्सिन विकासको महत्वपूर्ण चरणमा पुगेका छन्। अमेरिका, चीन र ब्रिटेनका यी ६ टोली मानिसमा गरिने परीक्षणको तहमा पुगेका हुन्।

corona vaccineकोरोना भ्याक्सिन ग्राफिक्स। साैजन्य: बीबीसी

१. भ्याक्सिनः एमआरएनए—१२७३ (अमेरिका)
मोडर्न थ्योरप्युटिक्स अमेरिकन बायोटेक्नोलोजी कम्पनी हो। औषधि विकासमा अब्बल मानिने यसको यसको मुख्यालय म्यासाचुसेट्सको क्याम्ब्रिजमा छ। हार्डबर्ड विश्वविद्यालय निकट मानिने यो कम्पनीले कोभिड—१९ को भ्याक्सिन विकास गर्न नयाँ अनुसन्धान रणनीतिमा काम गरिरहेको छ। यो परम्परागत भ्याक्सिन विकासभन्दा बिल्कुल फरक छ। उसले अनुसन्धान गरिरहेको भ्याक्सिनलाई एमआरएनए—१२७३ नाम दिएको छ।

यसको उद्देश्य मानिसमा रोग प्रतिरोधक क्षमता बढाउने रहेको छ। ताकि कोरोना भाइरसविरुद्ध लड्न सकोस्, बिरामी ठिक होस्। यसो गर्न परम्परागत विधि पनि अनाइन्छ। त्यसका लागि जीवित तर निस्क्रिय भाइरसको प्रयोग हुन्छ।

मोडर्नले भ्याक्सिनमा कोभिड—१९ का लागि जिम्मेवार भाइरसको प्रयोग गरेको छैन। भ्याक्सिन एमआरएनए—१२७३ को परीक्षणका लागि अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले आर्थिक सहयोग गरिरहेछ। यो भ्याक्सिन ‘मेसेन्जर आरएनए’ वा ‘मेसेन्जर राइबोन्युक्लिक एसिड’मा आधारित हुनेछ।

यसका लागि वैज्ञानिकहरुले प्रयोगशालामा कोरोना भाइरसको जेनेटिक कोड तयार पारिसकेका छन्। अब त्यो मानिसको सानो समूहमा परीक्षण गर्ने अवस्थामा पुगेको छ। त्यस्तो कोड मानिसको शरीरमा ‘इन्जेक्ट’ गरिनेछ। ‘यसो गर्दा मानिसको प्रतिरोधात्मक क्षमताले संक्रमणविरुद्ध लड्न प्रतिक्रिया गर्छ’ भन्ने वैज्ञानिकको विश्वास छ।

corona vaccine1कोरोना भ्याक्सिन ग्राफिक्स। साैजन्य: बीबीसी

२. भ्याक्सिनः इनो—४८०० (अमेरिका)
अमेरिकाकै अर्को बायोटेक्नोलोजी कम्पनी हो, इनोवियो फार्मास्युटिकल्स। यसले पनि कोभिड—१९ रोक्ने भ्याक्सिन विकास गर्न काम गरिरहेको छ। पेन्सलभेनिया मुख्यालय रहेको यो कम्पनीले भ्याक्सिन विकासका लागि फरक किसिमले काम गरिरहेको हो।

इनोवियोको अनुसन्धानअनुसार भ्याक्सिन विकास भए बिरामीको सेल्समा ‘प्लाज्मिड’ (एक किसिमको छोटो जेनेटिक संरचना)को माध्यमबाट सिधै ‘डीएनए’ ‘इन्जेक्ट’ गरिनेछ। यसबाट बिरामीको शरीरमा संक्रमणसँग लड्न ‘एन्टिबडी’ निर्माण सुरु हुने अपेक्षा छ। इनोवियोले विकास गरिरहेको भ्याक्सिनलाई इनो—४८०० भ्याक्सिन नाम दिइएको छ।

इनोवियो तथा मोडर्न दुवै अमेरिकी कम्पनीहरुले अनुसन्धानका लागि नयाँ प्रविधि उपयोग गरिरहेका हुन्। यिनले अनुसन्धान क्रममा अनुवांशिक (जेनेटिक) संरचनालाई परिवर्तन गरी परीक्षण गरिरहिइएका छन्। भ्याक्सिन विकासमा परम्परागत रुपमा चलिआएको विधिभन्दा यो फरक हो।

corona vaccine2कोरोना भ्याक्सिनको सम्भावित रुप। तस्विर: इन्ना केली/साइन्स बिजनेस

३. भ्याक्सिनः एमी ५—एनसिओभी (चीन)
अमेरिकाको मोडर्न थ्योरप्टिक्सले मार्च १६ मा मान्छेमा आफ्नो भ्याक्सिनको परीक्षण गरेको थियो। चिनियाँ बायोटेक कम्पनी क्यासियो बायोलोजिक्सले पनि त्यी दिन परीक्षण सुरु गरेको हो। यो परियोजनामा क्यासियोसँग इन्स्टिच्युट अफ बायोटेक्नोलोजी तथा चाइनिज एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजले सँगै काम गरिरहेका छन्। क्यासियोले विकास गरिरहेको भ्याक्सिनको नाम एमी ५—एनसिओभी दिइएको छ।

यसले विषाणुको खास समूह ‘एडेनोभाइरस’लाई विशेष भर्सनको रुपमा ‘भेक्टर’ गर्नेछ। ‘एडेनोभाइरस’ विषाणुको त्यो समूह हो जो आँखा, श्वाशनली, फोक्सो, आन्द्रा तथा स्नायु प्रणालीमा संक्रमणको कारण बन्ने गर्छ। यसको सामान्य लक्षण रुघा, खोकी, घाँटीमा दुःखाई, पखाला, आँखा पहेँलो हुनेगर्छ।

भेक्टर भाइरससँग सम्बन्धित छ। यसको प्रयोग कुनै कोसिकामा डीएनए पुर्याउन गरिन्छ। वैज्ञानिकहरुको विश्वास छ भेक्टरले ती प्रोटिनलाई सक्रिय बनाइदिनेछ जो संक्रमणसँग लड्न प्रतिरोधक क्षमताका लागि सहयोगी हुन्छन्।

४. भ्याक्सिन: एलभी—एसएमइएनपी—डिसी (चीन)

चीनको सेञ्जेन सहरमा जिनो इम्युन मेडिकल इन्स्टिच्युटमा एउटा अर्को भ्याक्सिनको परीक्षण भइरहेछ। त्यसको नाम एलभी—एसएमइएनपी—डिसी नाम दिइएको छ। यसमा एचआईभीजस्ता रोगीका लागि एन्टिभाइरसबाट तयार पारिएका सहायक कोसिका प्रयोग गरिँदैछ। तिनले मानिसमा रोग प्रतिरोधात्मक क्षमताको सक्रिय बनाउने विश्वास वैज्ञानिकको छ।

corona vaccine3कोरोना भाइरस (कोभिड—१९) भ्याक्सिनको ग्राफिक्स। साैजन्य: न्युयोर्क टाइम्स

५. भ्याक्सिन: वुहान (चीन)
कोरोनाविरुद्ध भ्याक्सिन विकास गर्ने चीनको तेस्रो परियोजना वुहान बायोलोजिकल प्रोडक्ट्स इस्टिच्युटमा यो अनुसन्धान भइरहेको छ। यो अनुसन्धान निस्क्रिय भाइरसको भ्याक्सिन दिने अवधारणाअनुसार भइरहेको हो। यो भ्याक्सिनका लागि निस्क्रिय भाइरसमा परिवर्तन गरिन्छ। जसबाट उसले संक्रमित गर्ने क्षमता निस्क्रिय हुनेछ।

जर्मनीका डाक्टर फिलिप टापिया जर्मनीका बायोप्रोसेस इन्जिनियरिङ समूहका विशेषज्ञ हुन्। वुहानमा अनुसन्धान भइरहेको भ्याक्सिनबारे उनी भन्छन्, ‘यो भ्याक्सिन विकासको सबैभन्दा सामान्य विधि हो। विश्वमा धेरै भ्याक्सिन यही प्रक्रियाबाट बनेका छन्।’

उनका अनुसार यसमा मञ्जुरी लिने अड्चन थोरै हुनेछ। ‘यदि आगामी १२ देखि १६ महिनाबीच कुनै भ्याक्सिन तयार भए त्यो यही विधिबाट हुनेछ।’

६. भ्याक्सिनः अक्सफोर्ड (ब्रिटेन)
ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयको जेनर इस्टिच्युटले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासका लागि अनुसन्धान गरिरहेको छ। २३ अप्रिलमा युरोपमा यसको क्लिनिकल परीक्षण भइसकेको छ। जेनर इस्टिच्युटका वैज्ञानिक र चिनियाँ कम्पनी क्यासिनोका वैज्ञानिक एउटै विधिमा काम गरिरहेका हुन्। फरक यो छ कि अक्सफोर्डले चिञ्पाजीबाट लिएको एड्नोभाइरसको कमजोर भर्सनलाई उपयोग गरिरहेको छ।

डाक्टर फिलिप भन्छन्, ‘वैज्ञानिकहरुले ल्याबमा त्यो भाइरस तयार पारिरहेछन् जो हानिकारक नहोस्। सतहमा कोरोना भाइरस प्रोटिन छ। आशा छ मानिसमा त्यो प्रोटिन प्रतिरोधक क्षमता सक्रिय हुन सकोस्।’ भ्याक्सिन विकासमा वैज्ञानिकहरुले पहिला पनि यो विधि अपनाइसकेका हुन्। २३ अप्रिलमा युरोप गरिएको यो भ्याक्सिनको क्लिनकल परीक्षणले सकारात्मक परिणाम देखिइसकेको छ।

आम प्रयोगमा आइपुग्न लाग्नेछ समय
कोभिड—१९ रोक्न युद्धस्तरमा भ्याक्सिन विकास गर्न खोजिए पनि यी मध्ये कुनले काम गर्छ अहिले नै निश्चित भन्न सकिँदैन। डाक्टर फिलिप भन्छन्, ‘अहिले नै यसबारे भन्न हतार हुनेछ। कसैले पनि यो भन्न सक्दैन कि भ्याक्सिनको अप्रत्यासित प्रतिक्रिया के हुन्छ। अलग—अलग ठाउँ र उमेरका मानिसमा भ्याक्सिनको के असर देखिन्छ। यी सबै कुरामा निष्कर्षमा पुग्न समय आवश्यक पर्छ।’

प्रभावशाली भ्याक्सिन विकास गर्नु र त्यसमा मञ्जुरी पाउनु केवल पहिलो कदम हो। वास्तविक चुनौती त्यतिबेला हुनेछ जब अर्बौं मानिसका लागि भ्याक्सिन उत्पादन गर्ने र पुर्याउने लक्ष्य रहन्छ। (बीबीसीबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad