समाज


काठमाडौँको टुँडीखेलमा पुस ३० र माघ १ गते ‘थारु राष्ट्रिय माघी महोत्सव’

काठमाडौँको टुँडीखेलमा पुस ३० र माघ १ गते ‘थारु राष्ट्रिय माघी महोत्सव’

नेपालखबर
पुस २८, २०८२ सोमबार १७:१, काठमाडौँ

थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ। यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन्।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताए।  

उनले भने, ‘थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ।’

थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन्। पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ। माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ। 

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ।

थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो। ‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिए।

उनका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष (स्टल) रहने छन्। खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ। २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ। यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad