नेपालको मौसममा आज (शुक्रबार) देखि दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसँगै आज बिहानदेखि दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव थपिएको हो।
यसअघि बिहीबार रातिसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र परिरहेको थियो।
हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा छ। कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु्/कुहिरो छ भने बाँकी तराई भूभागका थोरै स्थानमा हुस्सु लागिरहेको छ।
मौसम महाशाखाका अनुसार आज रातभर कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु्/कुहिरो रहनेछ भने बाँकी तराई भूभागका थोरै स्थानमा हुस्सु लाग्नेछ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यसैबीच देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यस क्रममा काठमाडौँ उपत्यकामा पनि आज (शुक्रबार) तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झर्दा अधिकतम तापक्रम घटेर १५.८ डिग्री सेल्सियस छ।
बिहीबार काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रमचाहिँ आजको जत्ति नै थियो।
आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ दशमलव ७ अर्थात् -७.७ डिग्री सेल्सयस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढीमा ८ दशमलव ६ अर्थात् ६.८ डिग्री सेल्सियस छ।
यस्तै आज सबैभन्दा कम अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ११.८ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी अधिकतम तापक्रम दाङको घोराहीमा २२.६ सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले हरेक दिन देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् आजको तापक्रम सूची

Shares

प्रतिक्रिया