समाज


बाघ गणना गर्न राखिएका पाँचवटा क्यामरा हराए, दुईवटामा हात्तीले क्षति पुर्‍यायो

बाघ गणना गर्न राखिएका पाँचवटा क्यामरा हराए, दुईवटामा हात्तीले क्षति पुर्‍यायो

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:३३, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामरामा क्षति पुगेको छ। पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामरा हराएका छन्भने दुई क्यामेरा हात्तीले फुटाएको हो।
 
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन्। टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उनले बताए। करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो।

मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पु¥याएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ। उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो।

अहिले दोस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ। दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरु खटिएका छन्। यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ। सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको छ। गणनामा १५० गणक खटिएका छन्। थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ।  

चितवन–पर्सा ब्लकमा ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै छ। यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad