ad ad

समाज


इलाममा प्रहरीमाथि गोली प्रहार गर्दै भागे विप्लवका ४ कार्यकर्ता, जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

इलाममा प्रहरीमाथि गोली प्रहार गर्दै भागे विप्लवका ४ कार्यकर्ता, जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:४७,

इलाममा प्रहरीमाथि गोली प्रहार गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका ४ कार्यकर्ता फरार भएका छन्।

सोमबार राति माई नगरपालिका ९ बरुङमा विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ जनाको टोलीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गरेका हुन्।

प्रहरी र विप्लवका कार्यकर्ताबीच केहीबेर दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीको टोली पुग्नासाथ विप्लवका कार्यकर्ताले पेस्तोलबाट फायर गरेको इलामका प्रहरी प्रमुख एसपी हरि बहादुर पाण्डेले बताए। प्रहरीले समेत जवाफी फायर गरेको थियो।

घटनास्थलबाट विप्लवका तीन कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम इन्चार्जसमेत रहेका संखुवासभाको चैनपुर नगरपालिका–६ का ५४ वर्षीय हिमाल भन्ने पुष्प कोइराला र ताप्लेजुङ मुकुवाखोला गाउँपालिका ८ का २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका ६ का १९ वर्षीय सौरव भन्ने पासाङ तामाङ पक्राउ परेका हुन्।

पक्राउ परेका विप्लव कार्यकर्ताबाट बरामद सामग्री।

उनीहरुको साथबाट ईलेक्ट्रिक डेटोनेटर १९ थान, सकेट बम १ थान, प्रेसरकुकर बम १ थान, कुपी बम १ थान, पाइप बम १ थान, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब ३ केजी, डेडकट वायर ६७ फिट, बाइनाकुलर १ थान, सलाई १ दर्जन, रिमोट कन्ट्रोल ४ थान, खुकुरी २ थान, खाली प्रेसरकुकर १ थान, मोबाइल ८ थान लगायतका सामानहरु प्रहरीले बरामद गरको छ।

उनीहरु स्थानीयको खाली घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी पुगेको थियो। फयरपछि फरार विप्लवका चार कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .