सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलल पु¥याउने व्यक्तिलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।
पछिल्लो समय धुनषा जिल्लाका केही स्थानमा सामाजिक सद्भाव खलल पुग्ने क्रियाकलाप भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाएका छन्। सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरी सामाजिक सद्भाव खलल पु¥याउने व्यक्तिमाथि कारबाही सुरु भएको उल्लेख गरिएको छ।
गृह मन्त्रालयले भनेको छ, ‘पछिल्ले समयमा धनुषा जिल्लाका विभिन्न स्थानहरूमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्म लक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भाव खलल पु¥याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आजगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइएको ब्यहोरा समेत जानकारी गराइन्छ।’
यस्तै, गृहले जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ। ‘यसर्थ जो कोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर गरे गराए पनि कानूनद्वारा वर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले भनेको छ।

Shares

प्रतिक्रिया