समाज


आमाको मृत्यु, बाबु बेपत्ता, तीन बालबालिकाको बिचल्ली

आमाको मृत्यु, बाबु बेपत्ता, तीन बालबालिकाको बिचल्ली

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ४:२५,

आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका-२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ।

पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएकी थिइन्।

आमा इशाराको दुई साताअघि मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए। ‘इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आएकी थिइन्, उनको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ,’ डुम्रेलले भने।

कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन्।

सरकारी क्षेत्रबाट पाउने राहतसमेत बालबालिकाले पाउन सकेका छैनन्। घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए।

‘गाउँमा खेतीपातीको सिजन शुरु भयो, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन्,’ उनले भने।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए। ‘आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ, हामी गर्छौं,’ अध्यक्ष डुम्रेलले भने।

भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले बताए।

घरमा ७५ वर्षीया हजुरआमा भए पनि उनी राम्रोसँग हिँडडुल गर्न नसकने बालक कर्ण थापाले बताए। उनले भने, ‘भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने हो, निकै समस्यामा छौँ।’

उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ। खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए।

हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ।

आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे। श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन्।

आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad