समाज


सालीसँग प्रेम सम्बन्ध, श्रीमतीको हत्या, जंगलबाट शव बरामद

सालीसँग प्रेम सम्बन्ध, श्रीमतीको हत्या, जंगलबाट शव बरामद

शैलेन्द्र महतो
बैशाख २२, २०७७ सोमबार ९:३७,

धनुषामा श्रीमानले नै श्रीमतीको हत्या गरेका छन्। सालीसँग प्रेम बसेपछि धनुषाको मिथिला नगरपालिका ९ लालभितीका २८ वर्षीय हरि चौहानले २५ वर्षीया श्रीमती बिना चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ।

बिनाको हत्या गरेर शव जंगलमा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको हो । गत वैशाख १८ गते बिहीबार साँझ करिब साढे ५ बजे चौहानले श्रीमती बिनालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेका थिए।

त्यसपछि बिनाले लगाएको सलले घाँटी बेरेर हत्या गरी शवलाई जंगलमै गाडेको अवस्थामा चार दिनपछि आइतबार साँझ प्रहरीले उत्खनन गरी शव बरामद गरेको हो ।

shab dhanusha 1उत्खनन गरिएको बिनाको शव।

बिनाले आफ्नी बहिनीसँग प्रेम रहेको तथा मदिरा सेवन गरी घर आउने पतिलाई गुनासो गरेपछि मानसिक यातना दिँदै आएको र पछिल्लो चरणमा हत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्या गर्नुअघि नै चौहानले खाडल खनी तयार पारेको अनुसन्धानबाट खुलेको छ। त्यसपछि बिनालाई जंगलमा लगेर हत्या गरी खाडलमा गाडेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए। योजना बनाएर नै चौहानले श्रीमतीको हत्या गरेका हुन्।

गाडी चालक पेशा गरिरहेका चौहानले श्रीमतीको हत्या गरेर घटना लुकाउन गएको वैशाख १९ गते बिहान श्रीमती हराएको भन्दै प्रहरीसमक्ष मौखिक जानकारी गराएका थिए। खोजबिन गर्दै जाँदा उनले आफै श्रीमतीको हत्या गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

पाँच वर्षअघि चौहानले बिनासँग अन्तर्जातीय विवाह गरेका थिए। अन्तर्जातीय विवाहकै कारण आमाबुबाले घरमा बस्न नदिएपछि उनी ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका थिए।

चौहानको करिब एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग एकतर्फी प्रेम रहेकोले उनले योजना बनाएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

खोजविनको क्रममा शंका लागेपछि प्रहरीले चौहानालाई पक्राउ गरी अनुसन्धान थालेपछि आफैँले श्रीमतीको हत्या गरको रहस्य खुलेको हो। 

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार साँझ उत्खनन गरेको छ । सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मृतक बिनाका ४ वर्षकी एक छोरी र अढाइ वर्षका छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad