समाज


साढे ७ लाख असुलेर दुबईमा विद्यार्थीको बिचल्ली पार्ने ब्रिटिस कलेजलाई कारबाहीको तयारी

मन्त्री पुन भन्छन् : कलेजको लाइसेन्स पनि जान सक्छ
साढे ७ लाख असुलेर दुबईमा विद्यार्थीको बिचल्ली पार्ने ब्रिटिस कलेजलाई कारबाहीको तयारी

प्रज्ञा तिम्सिना
पुस १५, २०८२ मंगलबार ७:११, काठमाडौँ

काठमाडौँको थापाथलीमा रहेको द ब्रिटिस कलेजले विदेशमा इन्टर्नसिपको नाममा विद्यार्थीहरूलाई ठगी गरिरहेको पाइएको छ। कलेजले नेपालबाट विद्यार्थीहरूसँग चर्को शुल्क असुलेर पछि बेलायत जान पाउने लोभ देखाउँदै दुबई पठाउने गरेको हो। 

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू कलेजको ठगी धन्दामा परेका हुन्। कलेजले वार्षिक लिने २ लाखबाहेक दुबई इन्टर्नसिपका लागि प्रतिविद्यार्थी ७ लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्। 

दुबई पुगेपछि श्रमिक परिचय पत्र बनाएर आफै काम खोज्न भनिएको विद्यार्थीहरूको आरोप छ। सोहीकारण कयौँ विद्यार्थी अलपत्र परेका थिए। इन्टर्नसिप गर्न नपाएर १० जना गत मंसिर १५ गते नेपाल फर्किएका थिए। बाँकी ९ जना विद्यार्थी श्रमिकका रूपमा अन्य काम गरेर बसिरहेको पीडित विद्यार्थीहरूले बताएका छन्। 

दुबई पठाएर अलपत्र पारेको भन्दै गत मंगलबार आक्रोशित विद्यार्थी र अभिभावकले थापाथलीस्थित कलेजमा तोडफोड गरेका थिए। यसबारे आइतबार शिक्षा मन्त्रालयमा छलफल समेत भएको छ। 

ब्रिटिस कलेजका सञ्चालक, अभिभावक र विद्यार्थीबीच भएको छलफलमा उच्च शिक्षा शाखाका पदाधिकारी र मन्त्रीका सचिवालयका व्यक्ति पनि छलफलमा सहभागी थिए। 

गम्भीर आरोप लागेको विषयमा छलफल गर्न बोलाइएको बैठकमा कलेज सञ्चालक ‘कँडेल ग्रुप’ का प्रमुखहरू सीईओ राजेन कँडेल र प्रबन्ध निर्देशक महेन्द्र कँडेल भने अनुपस्थित थिए। पीडित पक्षले पटकपटक सञ्चालकहरूको उपस्थितिको माग गरे पनि कलेज कर्मचारी मात्र छलफलमा सहभागी भए।

पैसा दिएर विद्यार्थीको मुख थुन्ने प्रयास
पीडित विद्यार्थीहरूले कलेजले आफ्नो गल्ती सार्वजनिक हुन नदिन आर्थिक प्रलोभन र धम्की दिएर चुप लगाउने प्रयास गरेको बताएका छन्।

दुबईबाट फर्किएका एक विद्यार्थीले ९ लाख ५० हजार रकमको चेक दिएर चुप लगाउन खोजिएको जानकारी दिए। 

‘कोठामा लगेर ९ लाख ५० हजारको चेक दिएर तिमीहरू ‘साइड’ लाग भन्दै हस्ताक्षर गराइयो। कानुनी रूपमा जान्नँ भन्ने पत्रमा हस्ताक्षर गर्न लगाइयो,’ उनले भने। 

‘त्यहाँ गएर पनि कलेजमा पढाउने हो, त्यहाँ होस्टेल हुन्छ, सबै विद्यार्थी सुरक्षित हुन्छौ’ भन्ने आश्वासन दिएर आफूहरूलाई दुबई पठाइएको एक छात्राले बताइन्।

‘नेपालबाट गएका ८ जना विद्यार्थीमध्ये ५ जना केटी थियौँ। होस्टेल भनेर हामीलाई विदेशी कामदार बस्ने क्याम्पमा विदेशीहरूसँगै कोचिएर बस्न बाध्य पारियो। अन्य देशका अपरिचित व्यक्ति, केटा र केटी सँगै राखिएको थियो। केटीहरूलाई केही भयो भने कसले जिम्मा लिन्छ? कलेज त पैसाले चल्ने रहेछ। हामीलाई केही भएको भए के हुन्थ्यो? ल यति पैसा लिएर तिमी चुप लाग भन्ने?’ उनको प्रश्न छ।

छलफलमा एक अभिभावकले प्रश्न गरेकी थिइन्, ‘तपाईंहरूको कलेजले दिएको फेक सर्टिफिकेट लिएर मेरी छोरी कहाँ जाने?’

‘दुबईमा हस्पिटालिटी म्यानेजमेन्ट पढेर मैले यो प्रगति गरेँ भनेको एक जना मात्र विद्यार्थी देखाउन सक्नुहुन्छ?’ उनको थप प्रश्न थियो, ‘हामीले गलत गर्‍यौँ, अब यस्तो गर्दिनँ भन्न किन सक्नुहुन्न? महेन्द्र कँडेललाई किन यहाँ छलफलमा उपस्थित गराउनु भएन? मेरो छोरीको चार वर्षको करिअर खेर गयो, यसको जिम्मा कसले लिने? ऊमाथि भएको मानसिक उत्पीडनको जिम्मा कसले लिने?’

आफ्नो १६ लाखको क्षति भएकोमा कलेजले ९ लाख ५० हजार रूपैयाँ मात्र दिन खोजेको ती अभिभावकले बताइन्। 

‘होटल म्यानेजमेन्टको इन्टर्न गर्न पठाएको छोरीलाई लेबर काम लगाइयो। जुन उद्देश्यका लागि पठाएको, त्यो नै नभएपछि दुःखमा किन राख्ने भनेर हामीले आफ्नै खर्चमा फिर्ता बोलायौँ। बैंकबाट ऋण लिएर पठाएको छोरीलाई दुबईबाट नेपाल बोलाउन पनि पैसा जुटाउन सकेकी थिइनँ। कसरी छोरी ल्याएँ भन्ने मलाई मात्र थाहा छ,’ उनले भनिन्।

छलफलमा ब्रिटिस कलेजका कर्मचारीले आफूहरू नियमसम्मत रूपले चलेको दाबी गरेका थिए।

‘हामीलाई हतोत्साहित गर्न खोजियो। गुणस्तरीय शिक्षा दिएका छौँ। हामी नियमसम्मत चलेको संस्था हौँ,’ उनीहरूले यसो भन्नेबित्तिकै छलफलमा चर्काचर्की भएको थियो। 

अभिभावकहरूले कलेजले ठगी गरेको प्रमाण रहेको बताएका छन्। विद्यार्थीहरूले दिएका प्रमाणहरू पनि उनीहरूले मन्त्रालयका अधिकारीलाई देखाएका थिए।

‘आफ्नै अगाडि विद्यार्थी र अभिभावकले प्रमाण देखाएपछि कलेजका पदाधिकारीले जहाँजहाँ गल्ती भएको छ, त्यहाँ पैसा फिर्ता गर्छौं भनेका थिए,’ मन्त्रालयका ती अधिकारीले भने। 

विद्यार्थी र अभिभावकले भने पैसा फिर्ता गरेर मात्र नहुने अडान लिएका छन्। 

कारबाही गर्ने मन्त्रालयको तयारी 
द ब्रिटिस कलेजले ठगी गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षामन्त्री महावीर पुनको समेत ध्यानार्कषण गराएका थिए। 

त्यसपछि मन्त्रालयले उच्च शिक्षा शाखाका उपसचिव परशुराम तिवारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले आइतबार मन्त्रीलाई प्रतिवेदन बुझाएको छ। शिक्षामन्त्री पुनले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए।

‘समितिले आइतबार प्रतिवेदन बुझाएको छ। अध्ययन गर्दैछौँ। प्रतिवेदनमा द ब्रिटिस कलेजको गल्ती देखिएको छ,’ शिक्षामन्त्री पुनले नेपालखबरलाई भने, ‘प्रतिवेदन अनुसार कलेजलाई कारबाही गर्छौं। विद्यार्थीलाई राम्रो सूचना नदिएको, भनिए अनुसारको सेवा नदिएको, विद्यार्थीलाई धम्क्याउने गरेको पाइएको छ।’

‘कलेजको बदमासी अनुसार दण्ड जरिवाना गर्छौं, लाइसेन्स पनि जान सक्छ। कारबाही हुन्छ राम्रौसँग,’ मन्त्री पुनले नेपालखबरसँग भने, ‘यो कलेजलाई मात्र होइन, अन्य यस्ता विदेशी सम्बन्धन लिएर सञ्चालक भएका कलेजहरूलाई नियमन गर्न नियमावली बनाउछौँ। विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि खुकुलो नियम रहेछ, अब कडाइ गर्छौं।’

द ब्रिटिस कलेजले शिक्षा मन्त्रालयमा बुझाएको विवरणमा होटल म्यानेजमेन्टको तीन वर्षे कोर्स नै उल्लेख छैन। यही कार्यक्रमसँग मिल्दोजुल्दो हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट उल्लेख भए पनि त्यो चार वर्षे कोर्स हुने मन्त्रालयमा पेस गरिएको दस्तावेजमा उल्लेख छ।

द ब्रिटिस कलेजको वेबसाइटमा लन्डन विश्वविद्यालयबाट मान्यताप्राप्त शिक्षण संस्था भएको उल्लेख छ। कलेजले शिक्षा मन्त्रालयमा बुझाएको कागजातमा उल्लेख भए अनुसार बेलायतका दुई विश्वविद्यालय युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड र लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा सन् २०११ देखि कलेज सञ्चालन भएको हो।

मन्त्रालयबाट अनुमति नलिने, नियमित नवीकरण नगर्ने, लेखापरीक्षण र कर चुक्ता नगर्ने, नियमानुसार कार्यक्रम थपको अनुमति नलिने, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नलिने कलेजहरू बढ्न थालेपछि २०८१ साल साउन ३० गते मन्त्रालयले बुझेर मात्रै भर्ना गर्न अभिभावकहरूलाई आह्वान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad