समाज


कोरोनाबाट काठमाडौँबासीलाई मुक्त राख्न सामूहिक प्रयास आवश्यक : मेयर शाक्य

कोरोनाबाट काठमाडौँबासीलाई मुक्त राख्न सामूहिक प्रयास आवश्यक : मेयर शाक्य

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ८:४७,

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवतजावतमा कडाइ गर्नुपर्ने बताएका छन्।

‘नेपालगञ्ज, वीरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका बिरामी बढिरहेका छन्’, प्रमुख शाक्यले भने, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्दा संक्रमणको खतरा बढी हुन्छ।’

प्रमुख शाक्यले यस्तो बेलामा अझ उपत्यकाबाट हुने आवत–जावतमा कडाइ नगर्ने हो भने त्यसले थप समस्या हुनसक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यो विपद्को बेला हो । यस्तो बेलामा सबै राजनीतिक दलले दल भन्दा माथि उठेर सामूहिक धारणसहित समाधानको बाटो खोज्नुपर्छ । विभिन्न संघ–संस्था र नागरिकले पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुको अर्को विकल्प छैन।’

उनले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ पनि सचेत रहन सबैलाई आग्रह गरे।

‘राजधानीमा रहेका क्वारेण्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको आशंका भएका व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउनेलगायतका कार्यमा पनि सामूहिक प्रयास आवश्यक छ,’ शाक्यले भने, ‘स्थानीय तहले गर्ने स्थानीय र प्रदेश वा केन्द्र सरकारले गर्ने काम केन्द्रले गरौँ । तर, यसमा एक–अर्काबिच आवश्यक समन्वय होस् ।’

प्रमुख शाक्यले संघीय राजधानी समेत भएका कारण काठमाडौँका सन्दर्भमा सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गरे।

‘यो संघीय राजधानी हो । यहाँ ७७ बटै जिल्लाका नागरिक बसोबास गर्दै आएका छन्,’ उनले भने, ‘आवत–जावतलाई कडाई नगर्ने हो भने यहाँ कोरोना संक्रमण सजिलै फैलिन सक्ने खतरा बढी हुन्छ र त्यसो भयो भने नियन्त्रणका लागि मुस्किल हुनसक्छ । त्यसैले यसको समाधानका लागि नाकामा कडाइ गर्ने, उपत्यकाबासीको जीवनयापनलाई सहज बनाउनेलगायतका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ।’

जिम्मेवार नेताहरुले नै लकडाउनका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै त्यसले झन चिन्ता थपेको बताए।

‘यस्तो विपद्का बेलामा राजनीतिक दल, नेता र जनप्रतिनिधिहरुले आवत–जावतलाई प्रोत्साह गर्ने भन्दा सामूहिक प्रयासमा राजधानीमा रहेका र समस्यामा परेका नागरिकलाई सहज जीवन–यापनमा सहजीकरण गर्नुपर्छ,’ ‘उनले भने, ‘स्थानीय तहले गर्नुपर्ने जिम्मेवारी हामीले सकेसम्म पूरा गर्ने प्रयास गरिरहेका छौँ । तर, हाम्रो मात्रै प्रयासले नपुग्ने रहेछ। सबैको सामूहिक प्रयास भयो भने मात्रै समस्याको समाधान गर्न सकिन्छ ।’

उनले मुख्य गरेर अतिविपन्न, असाहय र मजदुर वर्ग बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका बारेमा पनि गम्भीर भएर लाग्न आग्रह गरे।

‘काठमाडौँमा अतिविपन्न, असहाय र मजदुर वर्ग सबैभन्दा बढी समस्यामा परेका छन्,’ उनले भने, ‘ती समुदायलाई खाद्यन्नको मात्रै व्यवस्था गरेर नहुने अवस्था छ । एउटै कोठामा धेरै जना मिलेर बस्नुपर्नेलगायतका समस्याले उनीहरु न्युनतम क्वारेण्टाइनको सुविधाबाट समेत बञ्चित छन् । हामीले आवत–जावतलाई कडाई गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरालाई बेवास्था गर्ने र राजधानीमा संक्रमण फैलिने अवस्था आयो भने ती समूदाय थप समस्यामा पर्न सक्छन् । यो विषयमा पनि हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ ।’

काठमाडौँ महानगरपालिकाबाट मात्रै लकडाउन अवधिभर ८० हजार बढीलाई राहत वितरण गरेको र एक लाख बढीलाई खाना खुवाउने काम गरेको भन्दै प्रमुख शाक्यले यसमा पनि व्यवहारिक कठिनाइ हुने गरेको बताए।

‘हामीले वडा–वडामा विभिन्न परोपकारी संस्थाहरुसँग समेत सहकार्य गरेर सामूहिक निशुल्क मेस चलाएका छौँ । ती मेसमा सामाजिक दूरी कायम गर्ने, खानाको गुणस्तरमा ध्यान दिने, अतिविपन्न, असाहय र मजदुरलाई प्राथमिकता दिने भनेका छौँ,’ शाक्यले भने, ‘निःशुल्क भनेपछि लक्षित वर्गबाहेक अरु पनि आउने भिडभाड हुने जस्ता समस्या आएका छन् । यसलाई न्युनिकरण गर्न पनि सामूहिक प्रयास आवश्यक छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad